सेवा प्रवाह र सुशासनको माग गर्दै बेलौरी नगर प्रमुखलाई रास्वपाको ज्ञापनपत्र

बेलौरी, कञ्चनपुर :

कञ्चनपुरको दक्षिणी सीमावर्ती बेलौरी नगरपालिकाको समग्र सेवा प्रवाह, विकास निर्माण तथा सुशासनको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नगर प्रमुख पोतीलाल चौधरीलाई सातबुँदे ध्यानाकर्षण पत्र बुझाएको छ। नगरभित्र सञ्चालित विकास आयोजनाहरू, सार्वजनिक सेवा तथा प्रशासनिक पारदर्शिताका विषयमा जनस्तरबाट विभिन्न गुनासाहरू आएको उल्लेख गर्दै रास्वपा बेलौरी नगर समितिले नगर कार्यपालिकाको ध्यानाकर्षण गराएको हो।

रास्वपा बेलौरी नगर समितिका सभापति विष्णुप्रसाद शर्माको नेतृत्वमा नगरपालिका कार्यालय पुगेको प्रतिनिधिमण्डलले नगर प्रमुख चौधरीलाई भेटेर ज्ञापनपत्र हस्तान्तरण गरेको छ। ज्ञापनपत्रमा नगर मातहतका स्वास्थ्य संस्थाहरूमा अत्यावश्यक औषधिको नियमित एवं पर्याप्त उपलब्धता सुनिश्चित गर्नुपर्ने, औषधि खरिद, भण्डारण र वितरण प्रणालीलाई पारदर्शी बनाउनुपर्ने तथा दरबन्दीअनुसारका स्वास्थ्यकर्मी र उपकरणको यथार्थ विवरण सार्वजनिक गर्नुपर्ने माग गरिएको छ।

त्यसैगरी सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर अभिवृद्धि, शिक्षक दरबन्दी मिलान तथा सरुवा व्यवस्थापन प्रक्रियालाई व्यवस्थित तुल्याउन ठोस योजना लागु गर्नुपर्नेमा जोड दिइएको छ। विद्यालयहरूमा विनियोजित बजेट तथा कार्यक्रमहरूको पारदर्शिता कायम गर्न सामाजिक परीक्षणलाई कडाइका साथ कार्यान्वयन गर्नुपर्ने धारणा पत्रमार्फत अघि सारिएको छ।

कृषिप्रधान यस क्षेत्रका वास्तविक किसानहरू लाभान्वित हुने गरी अनुदान, उन्नत बीउबिजन, सिँचाइ र बजार व्यवस्थापनका कार्यक्रम पहुँच र सम्बन्धका आधारमा नभई स्पष्ट मापदण्ड बनाएर समान रूपमा वितरण गर्नुपर्ने माग दलले उठाएको छ। निर्माणाधीन तथा जीर्ण सडकहरूको गुणस्तर परीक्षण गरी मर्मतसम्भार तत्काल अघि बढाउन, उचित नाली निर्माण गरी वर्षायाममा हुने डुबानको समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्न र सडकबत्ती व्यवस्थापनमा ध्यान दिन नगर प्रशासनको ध्यानाकर्षण गराइएको छ।

राजनीतिक पहुँचका आधारमा विकास निर्माण तथा सेवा प्रवाहमा विभेद भएको नागरिक गुनासो रहेको भन्दै रास्वपाले नगरपालिकाअन्तर्गतका योजना, बजेट, ठेक्का, लागत, प्रगति तथा भुक्तानीसम्बन्धी सम्पूर्ण विवरण सर्वसाधारण नागरिकले सहज रूपमा हेर्न सक्ने गरी पारदर्शी बनाउन आग्रह गरेको छ। साथै, हाटबजार तथा फोहोरमैलाको वैज्ञानिक व्यवस्थापन, विपद् व्यवस्थापनको पूर्वतयारी र सार्वजनिक सुनुवाइलाई नियमित गर्न माग गरिएको छ।

विरोधका लागि विरोध नभई नागरिकका साझा समस्या नगर नेतृत्वसमक्ष पुर्‍याएर रचनात्मक दबाब सिर्जना गर्न ज्ञापनपत्र पेस गरिएको स्पष्ट पार्दै रास्वपाले उठाइएका जनसरोकारका सवालमा नगरपालिकाले यथाशीघ्र छानबिन गरी स्पष्ट कार्ययोजना सार्वजनिक गर्ने अपेक्षा राखेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ