सीमावर्ती क्षेत्रबाट खैरो हेरोइनसहित बेलौरीका एक युवक पक्राउ

कञ्चनपुर, १३ असोज ।

कञ्चनपुरको दक्षिणी सीमावर्ती क्षेत्रबाट लागुऔषध खैरो हेरोइनसहित एक युवक पक्राउ परेका छन्। नेपाल भारत सीमा नजिकै पर्ने बेलडाँडी गाउँपालिका ३, बैवाह राधाकृष्ण मन्दिर परिसर इलाकाबाट बेलौरी नगरपालिका ९, अन्डैया बस्ने २४ वर्षीय दिनेश चौधरीलाई सुरक्षाकर्मीको संयुक्त गस्ती टोलीले नियन्त्रणमा लिएको हो।

सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोस्ट (बिओपी) झिलमिलाबाट सशस्त्र प्रहरी नायब निरीक्षक मान बहादुर थारुको नेतृत्वमा खटिएको पाँच सदस्यीय पैदल गस्ती टोली र प्रहरी चौकी झिलमिलाबाट प्रहरी सहायक निरीक्षक वीरेन्द्र सिंह विष्टको कमाण्डमा खटिएको तीन सदस्यीय संयुक्त टोलीले सीमा क्षेत्रमा निगरानी बढाउने क्रममा चौधरीलाई फेला पारेको थियो।

भारतको पिलिभित जिल्लाअन्तर्गत टाटरगञ्ज कम्पोज नगरसँग जोडिएको सीमा इलाकामा सोमबार राति करिब १० बजे संकास्पद अवस्थामा हिँडिरहेका चौधरीलाई रोकेर चेकजाँच गरिएको सुरक्षा निकायले जनाएको छ। खानतलासीका क्रममा निजले लगाएको कपडाको खल्तीभित्र लुकाइछिपाइ राखिएको २ दशमलव ६७ ग्राम लागुऔषध खैरो हेरोइन बरामद भएको थियो।

बरामद लागुऔषधसहित नियन्त्रणमा लिइएका चौधरीलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएका प्रहरी निरीक्षक जय पार्की नेतृत्वको टोलीलाई बुझाइएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ