कञ्चनपुर।
नेपाली कांग्रेसलाई समयअनुकूल रूपान्तरण गर्दै युवा नेतृत्व स्थापित गर्ने संकल्पका साथ कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ बाट सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन भएका युवा नेता मदनराज उपाध्यायले पार्टीको केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्।
‘अबको कांग्रेस, युवाको नेतृत्वमा’ भन्ने मूल नारालाई अघि सार्दै उनले युवा सहभागिता, सुशासन र आन्तरिक लोकतन्त्रलाई आफ्नो राजनीतिक प्राथमिकतामा राखेका छन्। देशकै उत्कृष्ट व्यवस्थापन क्याम्पस शंकरदेवको स्वतन्त्र विद्यार्थी युनियनको सचिवको जिम्मेवारी सम्हालिसकेका उपाध्याय विद्यार्थी आन्दोलन र शैक्षिक सुधारका मुद्दाबाट उदाएका जुझारु युवा नेता हुन्।
उम्मेदवारी घोषणा गर्दै नेता उपाध्यायले अबका युवा नवीन प्रविधिसँग अभ्यस्त हुँदै उद्यमसँग जोडिनुपर्ने आवश्यकता औंल्याएका छन्। पार्टीमा सिंगो युवाको भावना र आवाज बोक्ने उद्देश्यका साथ आफूले केन्द्रीय सदस्यमा दाबी गरेको उनको भनाइ छ। उनले मुलुकको शिक्षा नीति र राजनीतिक संस्कारलाई समेत समयसापेक्ष रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिएका छन्।
पार्टीको १४औँ महाधिवेशनमा सबैभन्दा कान्छो महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित भएदेखि नै उनी कञ्चनपुरलगायत सुदूरपश्चिममा संगठन विस्तारमा निरन्तर सक्रिय छन्। ‘जनमनमा कांग्रेस, घरघरमा कांग्रेस’ अभियानमार्फत गाउँस्तरसम्म पार्टी र नागरिकलाई जोड्न महत्त्वपूर्ण भूमिका खेलेका उनले स्थानीय तहदेखि केन्द्रीय संरचनासम्म युवाको निर्णायक सहभागिता हुनुपर्ने वकालत गर्दै आएका छन्। आम नागरिकका सुखदुःख र विकासका आवश्यकतामा निरन्तर जोडिँदै आएका कारण पनि स्थानीय स्तरमा उनको लोकप्रियता बढ्दो छ।
बलियो लोकतन्त्र र संविधानको रक्षासँगै भ्रष्टाचारमुक्त शासन प्रणाली, स्वदेशमै रोजगारी सिर्जना, कृषिमा आत्मनिर्भरता र दिगो पूर्वाधार विकासलाई उनले आफ्नो प्रमुख प्रतिबद्धता बनाएका छन्। राजनीतिलाई पद प्राप्तिको माध्यम मात्र नभई नयाँ पुस्ताको भविष्य निर्माण गर्ने उत्तरदायित्वका रूपमा लिनुपर्ने बताउँदै उपाध्यायले विचार, विकास र स्वविवेकका लागि निःस्वार्थ राजनीति आवश्यक रहेको प्रष्ट पारे।
आफूलाई सर्वसम्मत रूपमा महाधिवेशन प्रतिनिधि चयन गरेकोमा क्षेत्रवासी, वडा सभापति तथा नेता कार्यकर्ताप्रति आभार व्यक्त गर्दै उनले प्राप्त विश्वासलाई गुम्न नदिने प्रतिबद्धता जनाएका छन्। सुदूरपश्चिमको बलियो जनआधार, प्रस्ट वैचारिक दृष्टिकोण र राष्ट्रिय स्तरको विद्यार्थी राजनीतिमा बनाएको छबिका कारण उपाध्यायको यस उम्मेदवारीलाई कांग्रेस वृत्तमा विशेष चासो र अर्थपूर्ण रूपमा हेरिएको छ।





