तस्बिर सौजन्य: पत्रकार सन्तोष पन्त
बेलौरी, कञ्चनपुर ।
कञ्चनपुरको बेलौरीमा सम्पन्न उखु उत्पादक किसान हकहित संरक्षण समितिको वार्षिक साधारणसभाले अध्यक्ष हरि चन्द ठकुरीको नेतृत्वमा पुरानै कार्यसमितिलाई सर्वसम्मत रूपमा चयन गरेको छ। उखु किसानका समस्या समाधान र हकहितका लागि विगतमा चालिएका कदमहरूलाई निष्कर्षमा पुर्याउन भन्दै शुक्रवार भएको बन्दसत्रले वर्तमान नेतृत्व र समितिलाई नै पुनः जिम्मेवारी सुम्पिएको हो।

साधारणसभाबाट सर्वसम्मत चयन भएको कार्यसमितिको उपाध्यक्षमा अर्जुन सिंह, सचिवमा रामकृष्ण राना र कोषाध्यक्षमा चेतन कुमार राई रहनुभएको छ। यसैगरी, समितिका सदस्यहरूमा करम सिंह राना, रामलाल चौधरी, दयाराम चौधरी, शेर बहादुर शाही, झुप बहादुर शाही, हिरालाल चौधरी, कृष्ण चौधरी र लक्ष्मी चन्द चयन हुनुभएको छ। बेलडाँडी क्षेत्रबाट प्रतिनिधित्व गर्ने एक जना महिला सदस्य भने पछि चयन गरिने समितिले जनाएको छ।

शुक्रवार भएको साधारणसभामा स्थानीय जनप्रतिनिधि, व्यावसायिक संघसंस्थाका प्रतिनिधि तथा सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरी र उपप्रमुख जोगराम चौधरी लगायतका जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो। यसका साथै, उद्योग वाणिज्य संघ बेलौरीका अध्यक्ष प्रकाश राज पन्त र उखु खेतीमा संलग्न किसानहरूको बाक्लो उपस्थिति थियो। कार्यक्रममा सहभागी अगुवाहरूले कृषि क्षेत्रको विकास र किसानका सरोकारका विषयमा स्थानीय सरकार र सम्बन्धित निकाय थप गम्भीर हुनुपर्नेमा जोड दिएका थिए।






