कञ्चनपुरमा प्रहरीद्धारा बेलौरीसहित विभिन्न स्थानबाट १ लाख २० हजार बराबरको अवैध सामग्री बरामद

बेलौरी, कञ्चनपुर ।

कञ्चनपुरको दक्षिणी सीमावर्ती नाका बेलौरीसहित जिल्लाका विभिन्न स्थानबाट भन्सार छली ल्याइएका एक लाख २० हजार रुपैयाँभन्दा बढीका अवैध सामग्री नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ ।

खुला सिमानाको फाइदा उठाउँदै भारतबाट अवैधानिक रूपमा भित्र्याइएका लत्ताकपडा, किराना सामान र बोइलर कुखुरा प्रहरीले गस्तीका क्रममा बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सार्वजनिक गरेको विवरणअनुसार असोज १६ गते खटिएको प्रहरी टोलीले जिल्लाभरबाट कुल एक लाख २० हजार तीन सय ६० रुपैयाँ मूल्य बराबरको भन्सार छलीका सामग्री नियन्त्रणमा लिएको छ ।

यस कारबाहीमा सबैभन्दा बढी अवैध सामग्री बेलौरी क्षेत्रबाट बरामद भएको छ । इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको टोलीले सीमा क्षेत्रबाट ७९ हजार रुपैयाँ बराबरको कपडा र किराना सामान नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले जानकारी दिनुभयो । बेलौरी नाकाबाट ठूलो परिमाणमा अवैध सामान भित्रिँदा यहाँका स्थानीय इमानदार व्यवसायीहरू मर्कामा पर्दै आएका छन् ।

यसैगरी वडा प्रहरी कार्यालय महेन्द्रनगरले २६ हजार पाँच सय र इलाका प्रहरी कार्यालय झलारीले सात हजार आठ सय ६० रुपैयाँ बराबरको अवैध किराना सामान बरामद गरेका छन् । उता इलाका प्रहरी कार्यालय दोधारा चाँदनीले भन्सार छली ल्याइएका सात हजार रुपैयाँ मूल्यका बोइलर कुखुरा नियन्त्रणमा लिई जनस्वास्थ्यको मापदण्डअनुसार नष्ट गरेको छ । बरामद गरिएका अन्य सम्पूर्ण सामग्री आवश्यक कानुनी कारबाहीका लागि भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ