तस्बिर : सांकेतिक
पुनर्वास (कञ्चनपुर), १८ असोज ।
कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर १ पुरैनास्थित कच्ची सडक खण्डबाट जुवातास खेलिरहेको अवस्थामा नगद तथा ताससहित पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट सूचना सङ्कलनका लागि खटिएको प्रहरी टोली र इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीबाट खटिएको विशेष प्रहरी टोलीले गोप्य सूचनाका आधारमा छापा मारी उनीहरूलाई पक्राउ गरेको हो । श्रोतका अनुसार गएको राति करिब एक बजेको समयमा जुवातास खेलिरहेको भन्ने विशेष सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।
प्रहरीले घटनास्थलबाट जुवातास खेल्न प्रयोग भएको बीस हजार नौ सय दश रुपैयाँ नगद र विभिन्न गड्डीका तासहरू बरामद गरेको छ ।प्रहरीको कारबाहीमा पक्राउ पर्नेमा जगतबहादुर धामी, विक्रम विष्ट, प्रेमबहादुर सिंह, सुरेश तामाङ र केशवबहादुर बोहरा रहेका छन्। पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीको हिरासतमा राखी प्रचलित जुवा ऐनअन्तर्गत थप अनुसन्धान तथा कारबाही अगाडि बढाइएको छ ।





