अविरल वर्षा र बाढीपहिरोको विपद्का कारण पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा दशैँको सार्वजनिक टीका कार्यक्रम रद्द

कञ्चनपुर ।

भदौ र असोज महिनामा परेको अविरल वर्षा, बाढी तथा पहिरोका कारण देशका विभिन्न भागमा ठूलो जनधनको क्षति भएको र राष्ट्र नै शोकमा रहेको भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्षको विजयादशमीमा सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम रद्द गर्नुभएको छ।

निर्मल निवासस्थित संवाद सचिवालयले आइतबार एक विज्ञप्ति जारी गर्दै वर्तमान प्राकृतिक विपद्को पीडादायी अवस्थालाई मध्यनजर गरी यस वर्षको बडादशैँलाई आत्मसंयम र सादगीपूर्वक मनाउने औपचारिक जानकारी गराएको हो। बाढी र पहिरोले सयौँ नागरिकको ज्यान गएको, हजारौँ परिवार घरबारविहीन भई विस्थापित भएको र धेरैले आफ्नो सर्वस्व गुमाउनुपरेको कठिन परिस्थितिमा देश रहेकाले यस विषम घडीमा चाडपर्वलाई सामान्य रूपमा मात्र मनाउने निर्णय भएको सचिवालयको विज्ञप्तिमा उल्लेख छ।

विगतका वर्षहरूमा विजयादशमीका दिन पूर्वराजा शाहले निर्मल निवासमा सर्वसाधारण, शुभेच्छुक तथा आम नागरिकलाई टीका र जमरा प्रदान गर्ने परम्परागत कार्यक्रम आयोजना गर्दै आउनुभएको थियो। तर, यसपटक विपद्का कारण नागरिकहरू अत्यन्तै कष्टकर जीवन बिताइरहेको र गाउँबस्तीमा चाडपर्व मनाउने उल्लासको वातावरण नभएको निष्कर्ष निकाल्दै उक्त सार्वजनिक कार्यक्रमलाई पूर्ण रूपमा स्थगित गर्ने निर्णय लिइएको हो।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ