धनगढी :
सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ३७ अर्ब ७० करोड ३९ लाख रुपैयाँ बराबरको बजेट प्रदेश सभामा प्रस्तुत गरेको छ। नयाँ सरकार गठन भएको करिब दुई महिनापछि आइतबार प्रदेशका आर्थिक मामिला मन्त्री चक्रबहादुर मल्लले चालु आर्थिक वर्ष २०८३/८४ को आयव्ययको विवरण सार्वजनिक गर्नुभएको हो।
मन्त्री मल्लले प्रस्तुत गर्नुभएको बजेटको आकार तत्कालीन अर्थमन्त्री विक्रमसिंह धामीले ल्याएको जत्रै रहेको छ। सरकार परिवर्तनसँगै नयाँ अर्थमन्त्रीले बजेट ल्याए पनि समग्र अंकभार र आकारमा भने अघिल्लो सरकारकै नीतिलाई निरन्तरता दिइएको छ। यसले प्रदेशको अर्थतन्त्रको यथार्थ धरातल र स्रोतको सीमिततालाई उजागर गरेको विश्लेषकहरुले बताएका छन्।
सरकारले प्रस्तुत गरेको बजेटमा खर्च व्यहोर्ने स्रोततर्फ आन्तरिक राजस्व परिचालनबाट एक अर्ब ७२ करोड रुपैयाँ संकलन हुने लक्ष्य राखिएको छ। त्यसैगरी संघीय सरकारबाट राजस्व बाँडफाँटमार्फत १० अर्ब २४ करोड र संघीय रोयल्टी बाँडफाँटबाट ७ करोड रुपैयाँ प्राप्त हुने सरकारको अनुमान छ।
बजेटको अन्य स्रोतअन्तर्गत नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान ९ अर्ब ६ करोड ३३ लाख र संघीय ससर्त अनुदानतर्फ छ अर्ब ३ करोड रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको छ। यसका साथै अघिल्लो आर्थिक वर्षबाट खर्च हुन नसकी बचत हुने ९ अर्ब ३५ करोड रुपैयाँलाई पनि चालु वर्षको बजेट स्रोतका रूपमा समावेश गरिएको मन्त्री मल्लले जानकारी दिनुभयो।





