कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिकामा एक युवकलाई धारिलो हतियार देखाई अपहरण, बन्धक तथा कुटपिट गरेको अभियोगमा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बेलौरी नगरपालिका वडा नम्बर ९ रतनपुर बस्ने एक व्यक्तिलाई सोही स्थानस्थित खजुवा जङ्गलमा लगेर खुकुरी देखाउँदै धम्क्याएको र कुटपिट गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो। गत असोज २३ गते साँझ करिब ४ बजे भएको उक्त घटनापछि पीडित पक्षको सूचनाका आधारमा प्रहरीले अनुसन्धान अगाडि बढाएको जनाएको छ।
पक्राउ पर्नेहरूमा बेलौरी नगरपालिका ९ रतनपुर निवासी २१ वर्षीय आशिष विष्ट, १९ वर्षीय दिलीप भट्ट, २१ वर्षीय शंकर सुनार, २३ वर्षीय सुजित अधिकारी र २२ वर्षीय मिलन तिरुवा रहेका छन्।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतका अनुसार नियन्त्रणमा लिइएका पाँचै जनाविरुद्ध अपहरण, शरीर बन्धक, ज्यान मार्ने उद्योग तथा अपमानजनक एवं अमानवीय व्यवहार सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।





