कञ्चनपुरको बेलौरीमा धानको समर्थन मूल्य कार्यान्वयन गर्न नेपाली कांग्रेसको माग

बेलौरी, कञ्चनपुर:

सरकारले तोकेको धानको समर्थन मूल्यमा किसानको उत्पादन खरिदको सुनिश्चितता मिलाउन माग गर्दै नेपाली कांग्रेस बेलौरी नगर कार्य समितिले बेलौरी नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको छ। किसानले विगत वर्षहरूमा जस्तै घाटा व्यहोरेर सस्तो मूल्यमा धान बेच्नुपर्ने बाध्यताको अन्त्य गर्न माग गर्दै नगर उपप्रमुखसमक्ष उक्त माग पत्र पेस गरिएको हो।

नेपाली कांग्रेस बेलौरी नगर कार्य समितिका सभापति प्रकाश श्रेष्ठद्वारा हस्ताक्षरित पत्रमा विगत आर्थिक वर्ष २०८२/०८३ मा संघीय सरकारले मोटा धान प्रति क्विन्टल ३ हजार ४६३ रुपैयाँ ८१ पैसा र मध्यम धान ३ हजार ६२८ रुपैयाँ ३३ पैसा समर्थन मूल्य निर्धारण गरे तापनि स्थानीय सरकार र सरोकारवाला निकायले समयमै प्रभावकारी पहल नगर्दा किसानहरू प्रति क्विन्टल एक हजारदेखि एघार सय रुपैयाँसम्म घाटा खाएर उपज बिक्री गर्न बाध्य भएको स्मरण गराइएको छ।

चालु आर्थिक वर्ष २०८३/०८४ का लागि सरकारले मोटा धान प्रति क्विन्टल ३ हजार ६६० रुपैयाँ र मध्यम धान प्रति क्विन्टल ३ हजार ८६० रुपैयाँ समर्थन मूल्य तोकेको अवस्थामा विगतको जस्तो नोक्सानी दोहोरिन नदिन नगरपालिका गम्भीर हुनुपर्ने ध्यानाकर्षण पत्रमा उल्लेख छ। बेलौरीका किसानले उत्पादन गरेको धान स्थानीय तहमै सरकारी दररेटमा बिक्री वितरण हुने वातावरण बनाउन नगरपालिकाले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडसँग तत्काल आवश्यक समन्वय गर्नुपर्ने माग समितिले गरेको छ।

कृषिप्रधान यस क्षेत्रमा सिजनको समयमा किसानहरू बिचौलियाको भर पर्नुपर्ने र लगानी अनुसारको मूल्य नपाउने समस्या वर्षौँदेखि विद्यमान रहँदै आएको छ। स्थानीय प्रशासन र नगरपालिकाले समयमै खरिद केन्द्र स्थापना तथा व्यवस्थापकीय पहल नगरे किसानहरू थप मारमा पर्ने भन्दै बेलौरीका स्थानीय सरोकारवालाहरूले समेत तत्काल ठोस कदम चाल्न आग्रह गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ