कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिकामा आफ्नै बुवामाथि धारिलो हतियार प्रहार गरी घाइते बनाएर फरार रहेका एक युवकलाई प्रहरीले हतियारसहित नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पुनर्वास नगरपालिका वडा नम्बर ११ देउराली बजार बस्ने अन्दाजी २४ वर्षीय राहुल दमाईंले आफ्नै ५५ वर्षीय बुवा भक्तबहादुर दमाईंमाथि धारिलो हतियार दाउ प्रहार गरी घाइते बनाएका हुन्। सोमबार बिहान करिब ८ बजेको समयमा भएको उक्त घटनालगत्तै अभियुक्त घटनास्थलबाट फरार भएका थिए।
घटनाको जानकारी प्राप्त हुनासाथ मातहतको प्रहरी चौकी परासन कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले खोजी कार्य तीव्र पार्दै आरोपित राहुललाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक टेकबहादुर रावतले जानकारी दिएका छन्। प्रहरीले घटनामा प्रयोग भएको धारिलो हतियार दाउसमेत बरामद गरेको जनाएको छ।
हतियार प्रहारबाट गम्भीर घाइते भएका भक्तबहादुरको कैलालीस्थित सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ। घरायसी विवादका कारण घटना घटेको हुनसक्ने प्रारम्भिक अनुमान गरिए पनि आक्रमणको वास्तविक कारण भने खुल्न सकेको छैन। नियन्त्रणमा लिइएका युवकमाथि हिरासतमा राखी थप अनुसन्धान कार्य अघि बढाइएको प्रहरीले जनाएको छ।





