पुनर्वासबाट खैरो हेरोइनसहित दुई भारतीय र दुई नेपाली नागरिक पक्राउ

पुनर्वास (कञ्चनपुर), असोज २९

कञ्चनपुरको पुनर्वास नगरपालिका ४ बाट अवैध लागूऔषध खैरो हेरोइनसहित प्रहरीले दुई भारतीय र दुई नेपाली गरी चार जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहतको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी, कैलालीबाट खटिएको संयुक्त प्रहरी टोलीले असोज २८ गते भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतका अनुसार पक्राउ पर्नेमा कैलालीको गोदावरी नगरपालिका ६ बस्ने २८ वर्षीय राजेश कोली र सोही ठाउँका २३ वर्षीय सुरेश कोली रहेका छन्। यसैगरी, भारतको लखीमपुर खीरी जिल्ला बसई बस्ने ३० वर्षीय राम पुकार र सोही ठाउँका ३० वर्षीय अमित मिश्रलाई पनि प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले पक्राउ परेका व्यक्तिहरूको साथबाट ८ दशमलव १५० ग्राम अवैध लागूऔषध खैरो हेरोइन बरामद गरेको छ। साथै, उनीहरूले प्रयोग गरेको सु.प.प्र. ०१ ०१३ प ६७६३ नम्बरको नेपाली मोटरसाइकल र युपी ३१ सीपी ६९७८ नम्बरको भारतीय मोटरसाइकल समेत रीतपूर्वक बरामद गरिएको प्रहरी नायब उपरीक्षक रावतले जानकारी दिनुभयो।

सीमावर्ती क्षेत्र हुँदै भित्रिने लागूऔषध ओसारपसार नियन्त्रणका लागि सक्रिय प्रहरीले पक्राउ परेका चारै जनाविरुद्ध कानूनबमोजिम आवश्यक अनुसन्धान अगाडि बढाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ