केशब भट्ट, २८ पौष, बेलौरी। कञ्चनपुरको बेलौरी नगरपालिकाका नगरप्रमुख पोतिलाल चौधरीले सबै जातजातिको हक अधिकारको सुनिश्चितता गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
बेलौरीमा आयोजित माघ म्याला-२०८१ को समापन समारोहका प्रमुख अतिथि नगरप्रमुख चौधरीले बेलौरी नगर सबै जातजातिको साझा थलो भएकाले यहाँका प्रत्येक समुदायको हक अधिकार र पहिचानलाई सम्मान र संरक्षण गर्नु आफ्नो दायित्व रहेको बताए।

नगरप्रमुख चौधरीले माघ म्याला-२०८१ ले स्थानीय कला, संस्कृति, र परम्परालाई प्रवर्द्धन गर्दै सामुदायिक एकता र सहकार्यलाई बलियो बनाउन महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गरे। साथै, मेलालाई सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रमहरू ल्याउने प्रतिबद्धता जनाए।
तीन दिनसम्म चलेको यस म्यालामा स्थानीय थारु परम्परागत सांस्कृतिक कार्यक्रम र मनोरञ्जनात्मक गतिविधिहरू प्रस्तुत गरिएका थिए। मेलामा हजारौँ स्थानीय बासिन्दा तथा आगन्तुकहरूको उत्साहजनक सहभागिता रहेको थियो।





