कञ्चनपुर – जिल्ला अदालत कञ्चनपुरको आयोजनामा शुक्रबार महाकाली बहुमुखी क्याम्पस, बेलौरीमा ‘Access to Justice’ शीर्षक कानुनी सचेतना कार्यक्रम सम्पन्न भएको छ। ग्रामीण क्षेत्रमा कानुनी चेतना फैलाउने उद्देश्यले आयोजित यो कार्यक्रममार्फत विद्यार्थीलाई न्यायिक प्रक्रिया, नागरिक अधिकार र कानुनी पहुँचबारे प्रत्यक्ष जानकारी दिइएको हो।

पहिलोपटक क्याम्पसमै अदालत, प्रहरी र कानुनी अधिकारीहरू उपस्थित भएर कानुनी शिक्षा प्रदान गरेको कार्यक्रममा १०० भन्दा बढी विद्यार्थीहरूको उत्साहजनक सहभागिता देखिएको थियो। कार्यक्रममा जिल्ला न्यायाधीश राजेन्द्र सिंह भण्डारी, श्रेष्तेदार तारा प्रसाद जोशी, सूचना अधिकारी राजेन्द्र ब. चन्द, महाकाली क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष पल्लव राज भट्ट, सहायक क्याम्पस प्रमुख गंगा प्रसाद रिजाल, प्रहरी निरीक्षक भास्कर चन्द लगायत शिक्षक, कर्मचारी तथा विद्यार्थीको उपस्थिति थियो।

न्यायाधीश भण्डारीले विद्यार्थीहरूसँग अन्तरक्रिया गर्दै अदालत कसरी सञ्चालन हुन्छ, मुद्दा किन र कसरी दर्ता गरिन्छ, फैसलासम्मको प्रक्रिया कस्तो हुन्छ भन्नेबारे सहज र स्पष्ट रूपमा जानकारी दिए। उनले भने, “विद्यार्थीहरू नै भावी कानुनी चेतनशील नागरिक हुन्। उनीहरूलाई आजैबाट न्याय प्रणालीप्रति समझदारी गराउनु जरुरी छ।”

सहायक क्याम्पस प्रमुख रिजालले अधिकार खोज्नेभन्दा पहिले आफ्नो कर्तव्य बुझ्नुपर्नेमा जोड दिँदै भने, “कानुनको ज्ञानले मात्र होइन, आचरण र जिम्मेवारीबोधले पनि न्यायपूर्ण समाज निर्माण हुन्छ।” श्रेष्तेदार जोशीले उजुरी दर्ता, म्याद, साक्षी, र कानुनी कार्यान्वयन प्रक्रिया प्रस्ट्याउँदै विद्यार्थीहरूलाई अदालतप्रतिको डर हटाउन प्रयास गरे।


प्रहरी निरीक्षक चन्दले प्रहरी प्रशासनको कार्यक्षेत्र र अनुसन्धान प्रक्रिया सरल ढंगले प्रस्तुत गर्दै भने, “प्रहरी जनताको सेवा र सुरक्षाका लागि हो, अनुसन्धानको हरेक पाटो कानुनी मापदण्डमा आधारित हुन्छ।” उपाध्यक्ष भट्टले कानुनी शिक्षा र नैतिक मूल्य एकआपसमा गासिएका विषय भएको उल्लेख गर्दै विद्यार्थीहरूलाई अनुशासन र इमानदारीका साथ अघि बढ्न प्रेरणा दिए।

विद्यार्थीहरूले कार्यक्रमबाट कानुनी जानकारी प्राप्त गर्नुका साथै न्यायिक निकायसँग प्रत्यक्ष संवाद गर्ने अवसर पाएको अनुभव सुनाए। सहभागिता जनाएका धेरैले यस्तो कार्यक्रमले उनीहरूलाई न्याय र कानुनबारेको भ्रम तोडेको प्रतिक्रिया दिएका छन्।
जिल्ला अदालतले यस्तो कार्यक्रम महाकाली क्याम्पसमा पहिलोपटक आयोजना गरेको हो।स्थानीय समुदायमा न्यायप्रतिको चेतना जगाउने र कानूनलाई सर्वसाधारणको पहुँचमा ल्याउने यस्ता कार्यक्रमले दीर्घकालीन प्रभाव पार्ने विश्वास गरिएको छ। न्याय प्रणालीको पहुँच सबल बनाउन कञ्चनपुरमा यस्ता कार्यक्रम निरन्तर सञ्चालन हुने अपेक्षा गरिएको छ।







