कञ्चनपुरमा नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको कार्यालय उद्घाटन, अध्यक्षमा पोतीलाल चौधरी

महेन्द्रनगर, कञ्चनपुर, श्रावण २७। कञ्चनपुरको भीमदत्त नगरपालिका–६, ऐठपुरमा नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको कार्यालय मंगलबार औपचारिक रूपमा उद्घाटन गरिएको छ। कार्यक्रमका प्रमुख अतिथि नेकपा (माओवादी केन्द्र) का वरिष्ठ नेता तथा पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले कार्यालयको उद्घाटन गर्दै, कर्माचार्यले कम्युनिष्ट आन्दोलन र समाज परिवर्तनमा पुर्‍याएको योगदानको उच्च प्रशंसा गरे।

श्रेष्ठले कर्माचार्यका नीति, कार्यक्रम र सिद्धान्तलाई निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याउँदै, उनका विचार र आदर्शले समाजको समृद्धि र विकासको आधार निर्माण गरेको बताए।

सो अवसरमा प्रतिष्ठानको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का नेता तथा बेलौरी नगरपालिकाका मेयर पोतीलाल चौधरीलाई पदभार ग्रहण गराइएको थियो। पदभार ग्रहणपछि चौधरीले कर्माचार्यले देखाएको मार्गमा अडिग रहि जनताको पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे। उनका अनुसार, कर्माचार्य कम्युनिष्ट आन्दोलनका संस्थापक सदस्य मात्र नभई माओवादी आन्दोलनका पनि अग्रज नेता थिए।

उक्त कार्यक्रममा माओवादी नेता–कार्यकर्ता र विभिन्न कम्युनिष्ट अगुवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ