बेलौरी, कञ्चनपुर, श्रावण २९ । बेलौरी नगरपालिकामा दुई वर्षदेखि कवाड सङ्कलनको ठेक्का सम्झौता नभएकोमा अब भने ५ वर्ष अवधिका लागि नयाँ आव्हान गरिएको छ। एक वर्षदेखि आव्हान नै नगरीएको यो ठेक्का अहिले न्यूनतम आधार मूल्य रु ४,७५,००० तोकिएको छ।

नगरपालिकामा आर्थिक वर्ष २०७९/८० मा कवाड सङ्कलनका लागि रु ४,७५,००० आधार मूल्यमा आव्हान गरिए पनि बढाबढपछि करिब रु १७ लाखमा सम्झौता भएको थियो। आर्थिक वर्ष २०८०/८१ मा न्यूनतम रु १८ लाखमा आव्हान गर्दा कुनै निवेदन नआएपछि सम्झौता हुन सकेन। आर्थिक वर्ष २०८१/८२ मा भने ठेक्का नै आव्हान गरिएको थिएन।


ठेक्का सम्झौता नहुँदा नगरपालिकाले करिब १७–१८ लाख बराबरको वार्षिक राजस्व गुमाएको जानकारहरूले बताएका छन्। यस विषयमा बेलौरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश सिंह ऐरीसँग सम्पर्क गर्दा उनले पटक–पटक ठेक्का आव्हान गर्दा पनि सम्झौता गर्न कोही नआएपछि कार्यपालिकामा छलफल गरी न्यूनतम रकम घटाएर ५ वर्ष अवधिका लागि सो ठेक्का आव्हान गरिएको जानकारी दिए।कवाड सङ्कलनमा प्लास्टिकका बोतल, बियर र वाइनका बोतल, फलामका सामग्री, कागज, खाली सिसी लगायतका वस्तुहरू पर्छन्।





