कञ्चनपुरमा लागूऔषधसहित ६ जना पक्राउ: बेलौरी बाट एक महिलासहित ३ जना नियन्त्रणमा

कञ्चनपुर। नेपाल-भारत सीमा क्षेत्रमा लागूऔषधको अवैध ओसारपसार बढेसँगै कञ्चनपुर प्रहरीले सीमावर्ती क्षेत्रमा कडाइ गरेको छ। यसै क्रममा मंसिर २ गते जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले एक महिलासहित ६ जना व्यक्तिलाई झन्डै ९ ग्राम २६० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने लागूऔषधसहित नियन्त्रणमा लिएको छ।

उक्त दिन बेलौरी नगरपालिका वडा नं. १० स्थित सडकघाट नाकामा प्रहरी चौकी भुँडाबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको सु.प.प्र.०१२ प ३६०० नम्बरको अपाची मोटरसाइकललाई शङ्काको आधारमा नियन्त्रणमा लियो। मोटरसाइकल चालक कैलाली, गोदावरी नगरपालिका ८ श्रीपुर बस्ने वर्ष २६ का रामजनम चौधरी र पछाडि सवार सोही ठाउँ गेटा बस्ने वर्ष २८ का उमेश चौधरीको खानतलासी गर्दा उमेश चौधरीले लगाएको ज्याकेटको बायाँ भित्री खल्तीमा कालो प्लाष्टिकमा लुकाइराखेको अवस्थामा ४.५४ ग्राम खैरो धुलो पदार्थ फेला परेको थियो। प्रहरीले मोटरसाइकलसहित दुवै जनालाई नियन्त्रणमा लिएको छ।

यसको लगत्तै, बेलौरी नगरपालिका वडा नं. ०६ खैराना स्थित गोप्य सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेकी सोही वडा बस्ने वर्ष ३१ कि सावित्री चौधरीलाई नियन्त्रणमा लियो। महिला प्रहरीसहित गरिएको रितपूर्वकको खानतलासीका क्रममा उनको निलो टाउजरको दाहिने खल्तीबाट स-साना १० वटा पोका बनाएर लुकाइएको ४ ग्राम ५२० मिलिग्राम खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ बरामद भएको थियो।

त्यसैगरी,  भीमदत्त नगरपालिका वडा नं. ११ स्थित गड्डाचौकी चेकपोष्टमा गरिएको कारबाहीमा थप तीन युवा पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय गड्डाचौकीको टोलीले शंकास्पद अवस्थामा रहेका कञ्चनपुर, बेदकोट न.पा. ०९ लालपुर बस्ने वर्ष करिब २१ का अरबिन्द रोकाया, सोही न.पा. ०३ बस्ने वर्ष करिब २० का सुमित साँउद, र सोही न.पा. १० बस्ने वर्ष करिब २१ का साजन कठायतलाई नियन्त्रणमा लिएको हो। निजहरूको साथबाट ०.२० ग्राम (२०० मिलिग्राम) ब्राउन सुगर (खैरो हिरोईन) लागुऔषध बरामद भएको छ।

पक्राउ परेका सबै ६ जना व्यक्तिहरूमाथि लागूऔषध (नियन्त्रण) ऐन अन्तर्गत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ