डडेल्धुरामा नेकपाको ‘बृहत् एकता सन्देश सभा’, भीम रावल र खगराज भट्टलगायतका नेता सहभागी हुँदै

डडेल्धुरा । विभिन्न कम्युनिस्ट घटकहरूलाई एउटै केन्द्रमा उभ्याउने र वामपन्थी शक्ति सञ्चय गर्ने उद्देश्यसहित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले डडेल्धुरा सदरमुकाममा ‘बृहत् एकता सन्देश सभा’ आयोजना गर्ने भएको छ । आगामी मंसिर २४ गते जिल्ला सदरमुकामस्थित बसपार्कमा आयोजना हुने उक्त सभामा राष्ट्रिय राजनीतिमा प्रभाव राख्ने शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम तय भएको हो ।

सभालाई सम्बोधन गर्न पूर्वउपप्रधानमन्त्री भीम रावल, नेता  खगराज भट्ट,  नेता भानुभक्त जोशी, नेता प्रकाश शाह लगायतका  नेतृत्व डडेल्धुरा आउने भएका छन् ।

बृहत् एकता सन्देश अभियान मूल समितिका संयोजक उमेश भट्टले २०७४ सालको कम्युनिस्ट एकताले मुलुकभर ठूलो आशा जगाएको भए पनि एमाले अध्यक्ष केपी शर्मा ओलीको ‘व्यक्तिगत आडम्बर’ र स्वेच्छाचारिताका कारण एकता प्रक्रिया निष्कर्षमा पुग्न नसकेको आरोप लगाए । विगतको टुटफुटबाट पाठ सिक्दै अहिले करिब १५ वटा कम्युनिस्ट घटकहरू पुनः एकताबद्ध भएर एउटै मञ्चमा उभिएको संयोजक भट्टको दाबी छ ।

संयोजक भट्टले डडेल्धुरामा पार्टीभित्र कुनै पनि किसिमको आन्तरिक मतभेद नरहेको दाबी समेत गरे । ‘जिल्लामा हामीबीच कुनै फाटो छैन, सबै नेता तथा कार्यकर्ताहरू एउटै उद्देश्य र उच्च मनोबलका साथ एक ठाउँमा उभिएका छौं,’ उनले भने । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा राजनीतिक वातावरण निर्माण गर्न र संगठनभित्रको स्पष्ट मार्गचित्र कार्यकर्तालाई बुझाउन यो सभा कोसेढुङ्गा साबित हुने आयोजकको विश्वास छ ।

पछिल्लो समय ‘जेनजी’ अर्थात् नयाँ पुस्ताबाट उठेका प्रश्न र वितृष्णालाई सम्बोधन गर्ने र जनभावना अनुसार चल्ने क्षमता नेकपामा मात्र रहेको जिकिर गर्दै भट्टले आगामी निर्वाचनमा डडेल्धुराबाट ‘निर्विवादित उम्मेदवार’ सर्वसम्मत रूपमा चयन गर्ने तयारी भइरहेको समेत जानकारी दिए । छरिएर रहेका वामपन्थी शक्तिलाई एकीकृत गरी एउटै शसक्त कम्युनिस्ट केन्द्र निर्माण गर्ने दीर्घकालीन रणनीतिसहित मुलुकलाई कसरी अग्रगति दिने भन्ने विषय नै उक्त सभाको मुख्य एजेन्डा रहने बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ