बेलौरी वितरण केन्द्रद्वारा विद्युत महसुल नतिर्ने ग्राहकको लाइन काट्ने अभियान तीव्र, समयमै बक्यौता बुझाउन आग्रह

कञ्चन आवाज संवाददाता बेलौरी, कञ्चनपुर। नेपाल विद्युत प्राधिकरण बेलौरी वितरण केन्द्रले लामो समयदेखि विद्युत महसुल नबुझाउने ग्राहकहरूको लाइन काट्ने अभियानलाई तीव्र पारेको छ। वितरण केन्द्र अन्तर्गत विद्युत महसुलको बाँकी बक्यौता रकम बढ्दै गएपछि प्राधिकरणले विनियमावली अनुसार बक्यौता असुलीका लागि कठोर कदम चालेको जानकारी बेलौरी वितरण केन्द्रले दिएको हो।

कञ्चन आवाज’ सँगको कुराकानीमा बेलौरी वितरण केन्द्रका प्रमुख हिक्मत बि.सी. ले बक्यौता असुली अभियानलाई अबको दिनमा अझ व्यापक र सशक्त बनाइने जानकारी दिएका छन्।

प्राधिकरणको विद्युत महसुल संकलन विनियमावलीमा मिटर रिडिङ गरेको ६० औं दिनसम्म पनि विद्युत महसुल नबुझाएमा बिना सूचना जुनसुकै समयमा पनि विद्युत लाइन काटिने व्यवस्था रहेको छ। सोही व्यवस्था बमोजिम बेलौरी वितरण केन्द्रले ६० दिन भन्दा बढी समयदेखि बक्यौता रहेका ग्राहकहरूको घरदैलोमा पुगी लाइन काट्ने कार्यलाई तीव्रता दिएको छ। समयमै महसुल नबुझाउने ग्राहकको लाइन काट्ने काम धमाधम भइरहेको हुँदा अनावश्यक झन्झटबाट मुक्त हुन केन्द्रले सम्पूर्ण ग्राहक वर्गमा अनुरोध गरेको छ।

प्राधिकरणका अनुसार लाइन काटिएका ग्राहकहरूले पुनः विद्युत सेवा जडान गर्नका लागि बाँकी बिल रकममा २५ प्रतिशत अतिरिक्त जरिवाना तथा लाइन जोड्ने दस्तुर बापत रु. ८४७.५० समेत बुझाउनुपर्ने हुन्छ। यस्तो अवस्थामा ग्राहकलाई आर्थिक भार पर्ने भएकाले समयमै महसुल बुझाउन प्राधिकरणले सचेत गराएको छ। विद्युत महसुल संकलन विनियमावली २०७८ को व्यवस्था अनुसार मिटर रिडिङ भएको ७ दिनभित्र महसुल बुझाएमा २ प्रतिशत छुट पाइने सुविधा रहेको छ भने ४० दिन कटेपछि २५ प्रतिशत थप दस्तुर लाग्ने प्रावधान छ।

बेलौरी वितरण केन्द्रले ग्राहकहरूलाई जरिवाना र लाइन काटिने दुविधाबाट बच्नका लागि समयमै महसुल भुक्तानी गर्न आग्रह गरेको छ। साथै, प्रविधिको सदुपयोग गर्दै अनलाइन माध्यमबाट महसुल बुझाएर समय र पैसाको बचत गर्न सकिने तर्फ पनि केन्द्रले उपभोक्ताहरूको ध्यानाकर्षण गराएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ