विराटनगरमाथि सुदूरपश्चिमको शाही जित, लगातार दोस्रो पटक एनपीएलको फाइनलमा

बेलौरी, कञ्चनपुर । सुदूरपश्चिम रोयल्सले उत्कृष्ट प्रदर्शन गर्दै विराटनगर किंग्सलाई हराएर लगातार दोस्रो पटक नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ । काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार सम्पन्न पहिलो क्वालिफायर खेलमा विराटनगरमाथि एकपक्षीय जित निकाल्दै सुदूरपश्चिम उपाधि नजिक पुगेको हो । यो जितसँगै सुदूरपश्चिमले पहिलो संस्करणमा जस्तै दोस्रो संस्करणमा पनि फाइनलमा पुग्ने पहिलो टोली बन्ने इतिहास रचेको छ ।

दुई बलिया टोलीबीच कडा प्रतिस्पर्धा हुने अपेक्षा गरिए पनि खेल पूर्णतः सुदूरपश्चिमको पक्षमा रह्यो । सुदूरपश्चिमले प्रस्तुत गरेको १५६ रनको मध्यम लक्ष्य पछ्याएको विराटनगर किंग्स सुदूरपश्चिमको धारिलो बलिङ आक्रमणसामु टिक्न सकेन । विराटनगर १४.१ ओभरमै अलआउट हुँदै मात्र ७८ रनमा समेटियो । सुदूरपश्चिमका बलरहरूले इनिङ्सको सुरुवातदेखि नै दबाब सिर्जना गरेका थिए । पहिलो ओभरमै स्कट कुगेलेइनले विकेट लिए भने दोस्रो ओभरमा मार्टिन गप्टिल र नरेन भट्ट आउट हुँदा विराटनगर ३–३ को दयनीय अवस्थामा पुगेको थियो ।

विराटनगरका लागि कप्तान फाफ डु प्लेसीले २९ बलमा ३६ रन बनाएर इनिङ्स सम्हाल्ने प्रयास गरे पनि अर्को छेउबाट उनलाई साथ दिने कोही भएनन् । मर्चेन्ट डे लाङले १५ र बसिर अहमदले १२ रन जोड्नु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन समेत बनाउन सकेनन् । सुदूरपश्चिमको बलिङतर्फ स्कट कुगेलेइन, हर्मीत सिंह र अविनाश बोहराले समान २–२ विकेट लिँदै विपक्षीको ब्याटिङ मेरुदण्ड भाँचेका थिए । कप्तान दीपेन्द्र सिंह ऐरी र हेमन्त धामीले पनि १–१ विकेट हात पारे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५५ रन बनाएको थियो । सुदूरपश्चिमको इनिङ्सलाई उकास्न ओपनर विनोद भण्डारीले कप्तानी इनिङ्स खेले । उनले ५२ बलमा ३ चौका र २ छक्काको मद्दतले ६३ रनको महत्त्वपूर्ण अर्धशतकीय योगदान दिए । यो जारी लिगमा उनको दोस्रो अर्धशतक हो । यसै खेलबाट डेब्यु गरेका भारतीय खेलाडी शेल्डन ज्याक्सन र आरिफ शेखले समान २०–२० रनको योगदान दिएका थिए ।

लिग चरणको अन्तिम खेलमा विराटनगरसँग व्यहोरेको हारको बदला लिँदै सुदूरपश्चिमले अब उपाधिका लागि शनिबार हुने फाइनल खेलको तयारी गर्नेछ । पराजित भए पनि विराटनगर किंग्सका लागि फाइनल पुग्ने बाटो अझै बन्द भएको छैन । विराटनगरले बिहीबार हुने दोस्रो क्वालिफायरमा बुधबारको एलिमिनेटर (काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्सबीच) को विजेतासँग प्रतिस्पर्धा गर्नेछ । सुदूरपश्चिमको यो सानदार जितले सिङ्गो सुदूरपश्चिम प्रदेशमा उत्साहको सञ्चार गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ