कञ्चनपुर–१ कांग्रेसको उम्मेदवार सिफारिस टुङ्गियो : प्रत्यक्षतर्फ सभापति उपाध्याय र विष्ट, राष्ट्रिय सभामा विष्ट र पन्तको नाम सिफारिस

बेलौरी, कञ्चनपुर । नेपाली कांग्रेस कञ्चनपुर क्षेत्र नम्बर १ ले आसन्न २०८२ सालको आम निर्वाचनका लागि उम्मेदवारहरूको नाम सिफारिस गरेको छ। बुधबार र बिहिबार बेलौरीमा सम्पन्न क्षेत्रीय कार्यसमितिको बैठकले प्रतिनिधि सभा र राष्ट्रिय सभाका लागि उम्मेदवारहरूको नाम टुङ्गो लगाएको हो।

क्षेत्रीय सभापति गोपी प्रसाद उपाध्यायले दिनुभएको जानकारी अनुसार, केन्द्रको कडा मापदण्ड र परिपत्रलाई ध्यानमा राख्दै पार्टीले लामो समयदेखि योगदान गरेका नेताहरूलाई अगाडि सारेको छ।आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि क्षेत्र नम्बर १ बाट प्रत्यक्ष तर्फ दुई जनाको नाम सिफारिस गरिएको छ। जसमा क्षेत्रीय सभापति गोपी प्रसाद उपाध्याय र नेता भरत विष्ट रहेका छन्।

समानुपातिकतर्फ दुई  महिला नेतृहरूलाई प्राथमिकता दिएको छ। सिफारिस सूचीमा सगुना राना र खिना भण्डारीको नाम समावेश गरिएको छ।

त्यस्तै, माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि कञ्चनपुर क्षेत्र नम्बर १ बाट दुई जना पुराना व्यक्तित्वहरूको नाम सिफारिस भएको छ। जसमा हरेन्द्र सिंह विष्ट र प्रकाश राज पन्त रहेका छन्।

उक्त सिफारिस सूचीलाई जिल्ला कार्यसमिति हुँदै केन्द्रीय कार्यालयमा पठाइनेछ। केन्द्रको कडा निर्देशनका कारण यसपटक आकांक्षीहरूको व्यवस्थापन सहज भएको र निर्णय प्रक्रिया सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको कांग्रेस कञ्चनपुर १ ले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ