काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आफ्नो ३०१ सदस्यीय केन्द्रीय कमिटीमा ४० वर्ष मुनिका युवाहरूको सहभागिताका लागि १५ सिट सुनिश्चित गरेको छ। पार्टीको विधान अनुरुप भूगोल र समावेशी क्लस्टरका आधारमा युवाहरूको प्रतिनिधित्वका लागि सिट सङ्ख्या निर्धारण गरिएको हो।
पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, केन्द्रीय कमिटीमा उपत्यका र सातवटै प्रदेशबाट ८/८ जना सदस्य चयन हुने व्यवस्था मिलाइएको छ। यसरी चयन हुने सदस्यहरूमध्ये हरेक भूगोल (प्रदेश र उपत्यका) बाट अनिवार्य रूपमा एक–एक जना युवाको प्रतिनिधित्व हुनेछ। जसअनुसार भूगोलबाट मात्रै ८ जना युवा केन्द्रीय सदस्य बन्नेछन्।
पार्टीका १९ जना पदाधिकारीहरू स्वतः केन्द्रीय कमिटी सदस्य रहने व्यवस्था छ। बाँकी सदस्यहरूमध्ये खुल्ला र समावेशी कोटामा युवाका लागि आरक्षणको व्यवस्था गरिएको छ। केन्द्रीय कमिटीको खुल्ला कोटातर्फ रहेका १२५ सिटमध्ये २ सिट युवाका लागि सुरक्षित गरिएको छ।
यसैगरी, समावेशी क्लस्टरतर्फ आदिवासी जनजाति समूहका लागि छुट्ट्याइएको २५ सिटमा २ जना र मधेसी समुदायका लागि निर्धारित २० सिटमा २ जना युवाको प्रतिनिधित्व अनिवार्य गरिएको छ। दलित समुदायतर्फको १२ सिटमा पनि १ जना युवाका लागि कोटा निर्धारण गरिएको प्रचार विभाग प्रमुख गौतमले जानकारी दिनुभयो।
यद्यपि, पार्टीले प्रवास, अपाङ्गता, थारु, मुस्लिम र पिछडिएको क्षेत्रका लागि छुट्ट्याइएको क्लस्टरमा भने युवाका लागि छुट्टै आरक्षणको व्यवस्था गरेको छैन। पार्टी सङ्गठनमा युवा पुस्ताको सक्रिय सहभागिता गराउने उद्देश्यले यो मापदण्ड तयार पारिएको बताइएको छ।





