नेपालमा अब २०० र ५०० दरका भारतीय नोट चल्ने, प्रतिव्यक्ति २५ हजारसम्म बोक्न पाइने

काठमाडौँ/कञ्चनपुर। सरकारले लामो समयदेखिको प्रतिबन्ध हटाउँदै नेपालमा २ सय र ५ सय दरका भारतीय रुपैयाँ (भारु) प्रचलनमा ल्याउन अनुमति दिएको छ । मन्त्रिपरिषद्को हालै बसेको बैठकले सन् २०१६ को नोभेम्बर महिनापछि भारत सरकारद्वारा निष्कासन गरिएका भारु २०० र ५०० दरका नयाँ नोटहरू नेपाल भित्र्याउन तथा भारत लैजान बाटो खुला गरेको हो ।

सरकारको यो निर्णयसँगै अब नेपाल र भारत दुवै देशका नागरिकले प्रतिव्यक्ति २५ हजार भारतीय रुपैयाँसम्म साथमा राखेर सीमा वारपार गर्न पाउने भएका छन् । यसअघि नेपालमा १ सय दरका भारतीय नोट मात्रै वैधानिक रूपमा चल्ने व्यवस्था थियो । १ सय दरभन्दा माथिका नोट बोक्दा जफत हुनुका साथै कानुनी झमेला व्यहोर्नुपर्ने बाध्यात्मक अवस्थाको अब अन्त्य भएको छ ।

विशेषगरी कञ्चनपुर लगायत सुदूरपश्चिमका सीमावर्ती जिल्लाहरूमा भारतीय बजारसँगको प्रत्यक्ष निर्भरताका कारण ठुला दरका नोट नचल्दा सर्वसाधारण, व्यापारी तथा भारतमा मजदुरी गरेर फर्किने नेपालीहरूले सास्ती खेप्दै आएका थिए । सरकारको यो निर्णयले सीमा नाकाको व्यापारिक गतिविधि र पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ । साथै, उपचार र तीर्थयात्राका लागि भारत जाने नेपालीहरूलाई पनि यसले ठुलो राहत दिनेछ ।

स्मरण रहोस्, भारत सरकारले नोटबन्दी (विमुद्रीकरण) गरेपछि नेपाल सरकारले १ सय भन्दा माथिका भारतीय नोटमा प्रतिबन्ध लगाएको थियो । लामो समयदेखि निजी क्षेत्र र सीमावर्ती बासिन्दाले यो प्रतिबन्ध फुकुवा गर्न सरकारसँग माग गर्दै आएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ