लागुऔषध खैरो हेरोइन सहित लालझाडीका २८ वर्षीय डगौरा पक्राउ, बेलौरी प्रहरी र ब्युरोको संयुक्त सफलता

कञ्चन आवाज संवाददाता बेलौरी, कञ्चनपुर। कञ्चनपुरको दक्षिणी क्षेत्रमा लागुऔषध नियन्त्रणका लागि सुरक्षा निकायले निगरानी बढाएसँगै प्रहरीलाई महत्त्वपूर्ण सफलता हात लागेको छ । इलाका प्रहरी कार्यालय बेलौरी र लागुऔषध नियन्त्रण ब्युरो शाखा धनगढीको संयुक्त टोलीले विशेष सूचनाका आधारमा लालझाडी गाउँपालिकाबाट लागुऔषध खैरो हेरोइनसहित एक युवकलाई पक्राउ गरेको छ ।

आइतबार (मंसिर २८ गते) साँझ करिब ५:१० बजेको समयमा लालझाडी गाउँपालिका २ कञ्ज स्थित एक शंकास्पद स्थानमा प्रहरीले छापा मारेको थियो । सो क्रममा स्थानीय २८ वर्षीय छोट राम डगौरालाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट प्रतिबन्धित लागुऔषध फेला परेको हो ।

प्रहरी स्रोतका अनुसार डगौराको शरीर खानतलासी गर्दा निजले आफ्नो बायाँ हातको मुठ्ठीमा लुकाई छिपाई राखेको अवस्थामा २६० मिलिग्राम खैरो हेरोइन (धुलो पदार्थ) बरामद गरिएको छ । लागुऔषध ओसारपसार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा बेलौरी प्रहरी र ब्युरोको टोली तत्काल घटनास्थल पुगेको थियो ।

बरामद गरिएको लागुऔषधसहित डगौरालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बेलौरीमा ल्याइएको छ । पक्राउ परेका उनीमाथि लागुऔषध नियन्त्रण ऐन अन्तर्गत म्याद थप गरी विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सीमावर्ती क्षेत्र बेलौरी र आसपासका गाउँपालिकाहरूमा लागुऔषधको जालो तोड्न बेलौरी प्रहरीले पछिल्लो समय आफ्नो सक्रियता तीव्र पारेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ