कञ्चनपुर। कञ्चनपुर उद्योग वाणिज्य संघको १८औँ कार्यकारिणी समितिको निर्वाचन प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ। निर्वाचन समितिले आज (पुस १ गते) निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै आउँदो पुस १९ गते नयाँ नेतृत्व चयनका लागि मतदान हुने जानकारी गराएको छ।
मुख्य निर्वाचन आयुक्त पूर्णबहादुर चन्द तथा निर्वाचन आयुक्तहरू एकराज भट्ट र प्रकाश राज पाठकद्वारा जारी गरिएको सूचना अनुसार, निर्वाचनका लागि मतदाता नामावली प्रकाशनदेखि मतदानसम्मको विस्तृत तालिका तय गरिएको छ। सार्वजनिक कार्यतालिका अनुसार पुस ८ गते मतदाता नामावली प्रकाशन हुनेछ भने सोही नामावली उपर दाबी विरोधका लागि पुस ९ गतेको समय छुट्याइएको छ। अन्तिम मतदाता नामावली पुस १० गते प्रकाशन गरिनेछ। यस्तै, संघको सभाकक्षमा हुने निर्वाचनका लागि पुस १२ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने समय तोकिएको छ भने उम्मेदवारहरूको अन्तिम नामावली पुस १४ गते साँझ ५ बजे प्रकाशन हुनेछ।

निर्वाचन समितिले विभिन्न पदका लागि मनोनयन शुल्क समेत निर्धारण गरेको छ। जसअनुसार अध्यक्ष पदका लागि रु. ५१,०००, वरिष्ठ उपाध्यक्षका लागि रु. ४१,००० र अन्य पदाधिकारीहरू (उद्योग उपाध्यक्ष, वाणिज्य उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष) का लागि रु. ३१,००० शुल्क तोकिएको छ। त्यस्तै, कार्यकारिणी समिति सदस्य र संस्थागत प्रतिनिधिको उम्मेदवारीका लागि रु. १५,००० शुल्क बुझाउनुपर्नेछ। उम्मेदवार बन्न चाहने व्यवसायीले मनोनयन पत्रका साथ नेपाली नागरिकताको प्रतिलिपि, फर्म रजिस्ट्रेसनको प्रमाणपत्र र स्थायी लेखा नम्बर को प्रतिलिपि अनिवार्य रूपमा पेस गर्नुपर्नेछ।

मतदान कार्यक्रम पुस १९ गते बिहान ८ बजेदेखि साँझ ४ बजेसम्म चल्नेछ भने मतगणना पुस २० गते बिहान ९ बजेदेखि सुरु हुनेछ। मतदाताहरूले मतदान गर्नका लागि अनिवार्य रूपमा नागरिकता, मतदाता परिचयपत्र, सवारी चालक अनुमतिपत्र वा राहदानी साथमा ल्याउनुपर्नेछ। यस निर्वाचनबाट १ अध्यक्ष, १ वरिष्ठ उपाध्यक्ष, २ विषयगत उपाध्यक्ष, १ महासचिव, १ सचिव, १ कोषाध्यक्ष, ७ कार्यकारिणी सदस्य र १ संस्थागत प्रतिनिधि गरी कुल १५ जनाको नयाँ कार्यसमिति चयन हुनेछ जसलाई कञ्चनपुरको व्यावसायिक वृत्तमा महत्त्वका साथ हेरिएको छ।





