महेन्द्रनगर, कञ्चनपुर । जटिल रोग क्यान्सरसँग संघर्ष गरिरहनुभएका नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाका अध्यक्ष सुरेश सिंह धामीको जीवन रक्षार्थ सेती महाकाली ट्रक यातायात व्यवसायी संघले आर्थिक सहयोग प्रदान गरेको छ। भारतको राजीव गान्धी क्यान्सर अस्पतालमा उपचाररत अध्यक्ष धामीको उपचारमा सहजता होस् भन्ने उद्देश्यले संघले मंगलबार सहयोग रकम हस्तान्तरण गरेको हो।
सुदूरपश्चिम प्रदेशको यातायात क्षेत्रमा अग्रणी भूमिका खेल्दै आएको सेती महाकाली ट्रक यातायात व्यवसायी संघले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत अध्यक्ष धामीको उपचारका लागि रु. १७,५०० (अक्षरेपी सत्र हजार पाँच सय) रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ।
संघले उपलब्ध गराएको उक्त सहयोग रकम नेपाल पत्रकार महासंघका तर्फबाट कञ्चनपुरको दक्षिणी क्षेत्रका क्रियाशील पत्रकार केशव भट्टले ग्रहण गर्नुभएको थियो। संघले रकम हस्तान्तरण गर्दै बिरामीको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ।
पत्रकारिता क्षेत्रको नेतृत्व गरिरहनुभएका धामीको उपचार महँगो र जटिल भएका कारण विभिन्न क्षेत्रबाट सहयोग जुट्ने क्रम जारी छ। यसै सन्दर्भमा यातायात व्यवसायीहरूको छाता संगठनका रूपमा रहेको संघले देखाएको सद्भाव र मानवीय सहयोगप्रति नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाले हार्दिक आभार व्यक्त गरेको छ।
महासंघले अध्यक्ष धामीको उपचार प्रक्रिया लामो र खर्चिलो हुने भएकाले जिल्लास्थित अन्य संघ-संस्था, उद्योगी, व्यवसायी तथा शुभेच्छुकहरूलाई पनि यथाशक्य सहयोग गरिदिन अपिल गरेको छ।





