बेलौरी (कञ्चनपुर) । अनलाइन टिभी पत्रकार संघ कञ्चनपुरको प्रथम जिल्ला अधिवेशन शनिबार बेलौरीमा सम्पन्न भएको छ । बेलौरी नगरपालिकाको सभाहलमा आयोजित अधिवेशनले प्रकाश भट्टको अध्यक्षतामा ९ सदस्यीय नयाँ जिल्ला कार्यसमिति चयन गरेको हो ।
अधिवेशनमा नेतृत्व चयनका लागि सर्वसम्मत र निर्वाचन दुवै प्रक्रिया अपनाइएको थियो । अध्यक्ष र सचिव पदमा सहमति नजुटेपछि भएको निर्वाचनमा प्रकाश भट्टले १७ मत ल्याई विजयी हुनुभयो, त्यसैगरी, सचिव पदमा सन्तोष धानुक १७ मतसहित विजयी हुनुभयो।
अधिवेशनले संघको उपाध्यक्षमा लालबहादुर एसके, सह-सचिवमा दिनेश चौधरी र कोषाध्यक्षमा सरिता चौधरीलाई सर्वसम्मत चयन गरेको छ । यस्तै, कार्यसमिति सदस्यहरूमा केशब भट्टराई, रुपेश विक, पवन जोशी र महेन्द्र सिंह भाट चयन हुनुभएको छ ।
तदर्थ समितिका संयोजक प्रकाश भट्टको सभापतित्वमा सम्पन्न कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि एवं सुदूरपश्चिम प्रदेश सभा सदस्य दिवान सिंह बिष्टले पत्रकारिता क्षेत्र मर्यादित र जवाफदेही हुनुपर्नेमा जोड दिनुभयो । उहाँले पछिल्लो समय केही सञ्चारकर्मीहरू आपराधिक गतिविधिसँग जोडिने गरेको विषय चिन्ताजनक रहेको उल्लेख गर्दै पत्रकारिताको साख बचाउन आग्रह गर्नुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि बेलौरी नगरपालिकाका प्रमुख पोतिलाल चौधरीले नवनिर्वाचित कार्यसमितिले पत्रकारितालाई थप जिम्मेवार र विश्वसनीय बनाउने विश्वास व्यक्त गर्नुभयो । उपप्रमुख जोगराम चौधरीले सञ्चारकर्मीले समुदायका सवाल र आवाजलाई निरन्तर बुलन्द पार्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
यसैगरी, अनलाइन टिभी पत्रकार संघ सुदूरपश्चिम प्रदेश कार्यसमिति अध्यक्ष भक्तराज जोशीले अनलाइन पत्रकारिताको प्रभाव विस्तार भइरहेको भए पनि आम पाठक र दर्शकको पूर्ण विश्वास जित्न अझै मिहिनेत गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा वडा नं. ४ का अध्यक्ष अर्जुन ढकाल लगायत नेपाल पत्रकार महासंघका प्रदेश प्रतिनिधि तथा सञ्चारकर्मीहरूको बाक्लो उपस्थिति रहेको थियो । नवनिर्वाचित कार्यसमितिले जिल्लामा अनलाइन मिडियाको संस्थागत विकास र पत्रकारहरूको हकहितमा काम गर्ने प्रतिबद्धता जनाएको छ ।





