शुक्लाफाँटामा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५ वनसमिति स्थित पूर्व पश्चिम राजमार्गमा शुक्रबार साँझ भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । ट्याक्टर र मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकल चालक शुक्लाफाँटा ५ बस्ने ४५ वर्षीय गड्डु विकको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दिएको जानकारी अनुसार, मिति २०८२ पुस ११ गते साँझ करिब ७ः४५ बजे लालझाडी गाउँपालिका ३ बस्ने २६ वर्षीय बिरेन्द्र रानाले चलाएको म १ त ९३१ नम्बरको ट्याक्टर र विकले चलाएको सुदूरपश्चिम प्रदेश ०२००४ प २६८८ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए । दुर्घटनामा टाउको र खुट्टामा गम्भीर चोट लागेका मोटरसाइकल चालक विकलाई तत्काल झलारी स्थित टी एण्ड सी (T&C) अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि महाकाली प्रादेशिक अस्पताल पुर्‍याइएको थियो । अस्पतालमा उपचारकै क्रममा राति ९ः०० बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोही दुर्घटनामा मोटरसाइकलको पछाडि सवार शुक्लाफाँटा ५ कै ४० वर्षीय विरराम पोखरेल घाइते भएका छन् । उनको अहिले झलारीस्थित टी एण्ड सी अस्पतालमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार, दुर्घटनामा संलग्न ट्याक्टर, ट्याक्टर चालक र मोटरसाइकललाई इलाका प्रहरी कार्यालय झलारीले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान अगाडि बढाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ