बेलौरीमा आदिवासी जनजातिहरूको अधिकार विषयक कार्यक्रम आयोजना

मीरा श्रेष्ठ,

बेलौरी, कञ्चनपुर

आज आदिवासी जनजाती महासंघको बेलौरी नगर समन्वय परिषद्ले ‘आदिवासी जनजातीहरुको अधिकार सम्बन्धि २ दिने प्रशिक्षण तथा विपन्न समुदायका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण कार्यक्रम’ आयोजना गरेको छ ।

बेलौरी नगरपालिकाको सभाहलमा आयोजित सो कार्यक्रममा विभिन्न सामुदायिक विद्यालयका ३० जना विद्यार्थीहरुलाई झोला तथा १ थान कापी सहयोग गरिएको हो ।

बेलौरी नगरपालिकाको आर्थिक सहयोग रहेको उक्त कार्यक्रममा आज पहिलो दिन शैक्षिक सामाग्री सहयोग गरिएतापनि प्रशिक्षण भने भोलि अर्थात् १९ गते सम्म रहनेछ । प्रशिक्षण लागि भने अधिवक्ता कौशिला योगी हुनुहुन्छ ।

आदिवासी जनजाती बेलौरी नगर समन्वय परिषदका अध्यक्ष कृष्ण गम्वाले बेलौरी नगरपालिकाबाट नगरमा सुचिकृत ५ ओटा जातीय संस्थाहरुलाई समान रुपले बजेट विनियोजन लगायत नैतिक समर्थन दिदै गएको उल्लेख गर्नुभयो । ‟हामी पहिचानको कुरा गरिरहेका हुन्छौँ, भाषा, सँस्कृति संरक्षण गर्ने कुरा गरिरहेका हुन्छौँ, तर हामी आफ्नो भाषा बोलिरहेका हुन्नौँ । अब हाम्रो कतिपय जातीमा नवयुवाहरुलाई आफ्नो भाषा नै बोल्न नआउने स्थिति हुनसक्छ, त्यसैले हामीले आफ्नो भाषा पनि संरक्षण गर्नुपर्छ”, उहाँले बताउनुभयो ।

यस्तै अतिथिको रुपमा रहनुभएका नेवा : देय् दबू नगर समितिका अध्यक्ष सुरज श्रेष्ठले कार्यक्रमको आयोजना गर्नु आवश्यकीय र प्रशंसनीय रहेको बताउदै आदिवासी जनजातीहरुको हक अधिकारको विषयमा प्रशिक्षण दिदै गर्दा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग पनि हुनु उनीहरुको साक्षरताको हकको सुनिश्चित गरिनु अर्थ लाग्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‟वास्तवमा शिक्षा एउटा यस्तो हतियार हो, जसले हामीलाई आफ्नो अधिकारको लडाई लड्न अभिप्रेरित गर्छ । हामी आदिवासी कला र संस्कृतिमा धनी छौँ, अब हामी शिक्षा र चेतनामा पनि धनी हुनुपर्छ र यसका लागि बेलौरी नगरपालिकालाई यस्ता कुराहरुमा अझ बढि बजेट विनियोजन गर्न अनुरोध गर्छु ।”

 

अतिथिको रुपमा रहनुभएका बेलौरी नगरपालिका वडा नं ७ का वडा अध्यक्ष प्रकाश श्रेष्ठले भन्नुभयो, ‟हाम्रो आदिवासी जनजाती भन्ने बितिकै सबै आफ्नो भेषभुषा, संस्कृति, कला, खानपिन, रहनसहन हरेक दृष्टिकोणले धनी जातीको रुपमा मान्ने गरिन्छ, तर उहाँहरुले अवसर नपाएर हो या आफ्नो क्षमता देखाउन नसकेर हो, पछाडि पर्नुभएको देखिन्छ”, उहाँको भनाई थियो । सहभागीहरुलाई आफ्नो क्षमता अभिवृद्धिको लागि अभिप्रेरित भई अघि बढ्न समेत उहाँले प्रेरित गर्नुभयो ।

त्यस्तै नेपाल आदिवासी जनजाती जिल्ला समन्वय समितीका सचिव पुनम श्रेष्ठले सहभागीहरुले कार्यक्रमबाट आदिवासी जनजातीको अधिकार तथा आदिवासी तथा जनजाती महासन्धि १६९ बारे जानकारी प्राप्त गरि आफ्नो समुदायमा गएर अन्य सदस्यलाई समेत सचेत गराउने अपेक्षा रहेको जानकारी दिनुभयो ।

त्यसैगरि अतिथिको रुपमा रहनुभएका बेलौरी नगरपालिका वडा नं ५ का अध्यक्ष लाल बहादुर चौधरीले कार्यक्रमको अभिप्राय सकरात्मक रहेको बताउनुभयो । सँगै अझै धेरै विपन्न समुदायका विद्यार्थीहरु रहेको हुदा ति विद्यार्थीहरुलाई सो किसिमका सहयोगबाट लाभान्वित गराउन पहल गर्न समेत बेलौरी नगर समन्वय परिषद्लाई अनुरोध गर्नुभयो ।

 

अर्का अतिथि बेलौरी नगरपालिका वडा नं ८ का अध्यक्ष विश्राम रानाले कार्यक्रमको सफल सञ्चालनको शुभकामना दिदै आदिवासी जनजातीहरुको हक अधिकारको विषयमा सबैले राम्रो जानकारी लिनपर्ने कुरामा जोड दिनुभयो ।

 

अन्तमा कार्यक्रमका प्रमुख अतिथि बेलौरी नगरपालिकाका नगर प्रमुख पोतीलाल चौधरीले कार्यक्रमलाई सम्बोधन गर्दै आफू स्वयम् पनि जनजाती समुदायबाट रहेको र नगरको अभिभावकको रुपमा जिम्मेवारी सम्हाल्दै गरेको अवस्थामा जनजाती समुदायको आवश्यकीय उत्थान हुन नसकेको दुखेसो व्यक्त गर्नुभयो ।

‟नीति निर्माणको अवस्थामा जनजाती पछाडि परेको अवस्था छ । हामी झट्टै अरुलाई विश्वास गरिहाल्ने प्रवृतिका छौँ, तर साँस्कृतिक रुपमा हामीसँग सबै कुरा छ । नेवारी परिकार, थारु परिकार लगायतका कुराहरु चर्चित छ । तर अधिकारको विषयमा हामी पछाडि छौँ

”, उहाँले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ