महेन्द्रनगर / कञ्चनपुर। नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारी र कार्यतालिका केन्द्रीय कार्यसमितिबाट सर्वसम्मत रूपमा अघि बढिसकेको अवस्थामा सुदूरपश्चिमका ६ जिल्लाका पार्टी सभापतिहरूले ‘विशेष महाधिवेशन’ को रटान विधान विपरित भएको ठहर गरेका छन्। बिहीबार एक संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै उनीहरूले पार्टीको वैधानिक प्रक्रियालाई चुनौती दिँदै व्यक्तिगत तवरमा बोलाइएका भेला वा अधिवेशनमा सहभागी नहुन मातहतका सम्पूर्ण निकाय र कार्यकर्तालाई आग्रह गरेका हुन्।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०८२ मंसिर १५ गते सम्पन्न बैठकले १५औँ महाधिवेशनको कार्यतालिका सर्वसम्मत निर्णय गरिसकेको सन्दर्भमा विशेष महाधिवेशनको मागको औचित्य स्वतः समाप्त भइसकेको विज्ञप्तिमा उल्लेख छ। साथै, २०८२ पुस १८ गते बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले समेत यस विषयलाई थप प्रष्ट पारिसकेको अवस्थामा केही पक्षबाट सञ्चार माध्यममार्फत विशेष महाधिवेशनको आह्वान गरिनुले गम्भीर ध्यानाकर्षण भएको जिल्ला सभापतिहरूले जनाएका छन्।
पार्टी विधानअनुसार कुनै पनि तहको अधिवेशन वा विशेष अधिवेशन बोलाउने अधिकार केवल केन्द्रीय कार्यसमितिलाई मात्र निहित रहेको र कुनै पनि पदाधिकारी वा सदस्यलाई व्यक्तिगत रूपमा त्यस्तो अधिकार नरहेको विज्ञप्तिमा स्पष्ट पारिएको छ। “तसर्थ पदाधिकारी वा सदस्यले व्यक्तिगत रुपमा बोलाइएको अधिवेशन वा विशेष महाधिवेशनका नाममा गरिने कुनै पनि गतिविधि पार्टीको विधान विपरित हुने हुँदा त्यस्ता गतिविधिमा संलग्न नहुन पार्टीका सबै तहका पदाधिकारी, सदस्य, महाधिवेशन प्रतिनिधि तथा शुभेच्छुकहरूलाई हार्दिक अपिल गर्दछौं,” विज्ञप्तिमा भनिएको छ।
हाल महाधिवेशनको तयारीस्वरूप क्रियाशील सदस्यता नवीकरण र नयाँ सदस्यता वितरणको कार्य वडा, पालिका, प्रदेश सभा क्षेत्रीय कार्यसमिति हुँदै जिल्ला कार्यसमिति र प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले अगाडि बढाइरहेको जनाइएको छ। वडा अधिवेशनका मुख्य मतदाता नै क्रियाशील सदस्यहरू हुने भएकाले संगठनको ध्यान त्यता केन्द्रित हुनुपर्नेमा जोड दिइएको छ।
संयुक्त विज्ञप्तिमा कञ्चनपुर सभापति पदम बोगटी, कैलाली सभापति नारायण दत्त भट्ट, डडेल्धुरा सभापति भीम साउँद, अछाम सभापति पुष्प बहादुर शाह, डोटी सभापति नरेन्द्र बहादुर सिंह र बझाङ सभापति खडक बहादुर बोहराले हस्ताक्षर गरेका छन्। नेतृत्व तहले आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन र राष्ट्रिय सभा निर्वाचनमा एकताबद्ध भएर लाग्न समेत सम्पूर्ण पार्टी पंक्तिलाई आह्वान गरेका छन्।






