कञ्चनपुर क्षेत्र नं १ मा युवा नेता मदनराजको ३२ वडा पैदल यात्रा समापन: पुनर्वासमा बृहत सरसफाई कार्यक्रम सम्पन्न

कञ्चन आवाज संवाददाता, पुनर्वास, कञ्चनपुर। कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ का प्रभावशाली युवा नेता मदन राज उपाध्यायको नेतृत्वमा सञ्चालित ‘३२ वडा पैदल यात्रा’ पुनर्वासको आई.बि.आर.डी र पुनर्वास टाउन बजारमा पुगेर एक भव्य सरसफाई कार्यक्रमका साथ समापन भएको छ।

अभियानका संयोजक मदन राज उपाध्यायले फोहोर व्यवस्थापनलाई नागरिकको स्वास्थ्य र सभ्यतासँग जोडेर व्याख्या गरे। उनले भने,

“हामीले सफा गर्यौं भने टोल स्वस्थ हुन्छ, टोल स्वस्थ भए शरीर स्वस्थ हुन्छ। यो अभियान देखावटी होइन, नागरिक स्तरबाटै उठेको जागरण हो।”

उनले पसल अगाडि एउटा डस्टबिन मात्र राख्न सके पनि बजारको मुहार फेरिने बताउँदै व्यापारीहरूलाई सचेत गराए।

तर, उपाध्यायको सम्बोधन सरसफाईमा मात्र सीमित रहेन। उनले पुनर्वासमा रहेको ६५ बिघा सरकारी जग्गाको बेवास्ताप्रति गम्भीर चिन्ता व्यक्त गरे। उनले भने:

“यता पट्टि ६५ बिघा सरकारको जमिन खाली छ। यहाँ एउटा टेक्निकल युनिभर्सिटी होस्, ठूलो कलकारखाना होस् वा एउटा ठूलो रंगशाला बनाउन सकियो भने धनगढीबाट सिधै मानिसहरू यहाँ आउने वातावरण बन्छ। यसले पुनर्वास र बेलौरीलाई कञ्चनपुरको ‘हब’ बनाउन सक्छ।”

उनले पुनर्वास क्षेत्रलाई ‘देवभूमि’ को संज्ञा दिँदै यहाँका राम बस्ती, सीता बस्ती, अरनिको बस्ती जस्ता नामहरूले धार्मिक सहिष्णुता झल्काउने बताए। साथै, थारु संग्रहालय र तामाङ बस्तीको प्रवर्द्धन गर्दै यस क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउन सकिने भिजन पेश गरे।

उनले जनप्रतिनिधिहरूलाई प्रश्न गर्दै भने, “चुनाव जित्नुभन्दा अगाडि घोषणापत्रमा के लेख्नुभएको थियो? एकचोटी त्यो पल्टाएर हेर्नुस्। सत्ता र शक्ति अस्थायी हो, तर जनताको लागि गरेको काम दीर्घकालीन हुन्छ।”

कार्यक्रममा ‘समुदाय-प्रहरी साझेदारी’ व्यानरसहित नेपाल प्रहरीको टोली र सशस्त्र प्रहरीको टोली सक्रिय रूपमा खटिएको थियो। सरसफाईमा सहभागी ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक लोकेन्द्र कार्किले यो अभियानको दीर्घकालीन महत्वबारे प्रकाश पारे।

उनले भने:

“तत्काललाई यसले बजार सफा देखिएला, तर यसको मुख्य उद्देश्य दीर्घकालीन हो। समुदायले प्लास्टिकजन्य फोहोरको व्यवस्थापन आफैं गर्नुपर्छ भन्ने सन्देश यो कार्यक्रमले दिएको छ। प्रहरी र समुदाय मिलेर काम गर्दा समाज सुधारमा ठूलो टेवा पुग्छ।”

कार्यक्रममा स्थानीय जेष्ठ नागरिक र युवाहरूको बाक्लो उपस्थिति थियो। क्यामरामा बोल्दै एक स्थानीय जेष्ठ नागरिकले युवाहरूको सक्रियताको खुलेर प्रशंसा गरे। “यो काम एकदमै ठिक हो। सरसफाई नै स्वास्थ्य हो र स्वास्थ्य नै धन हो। युवा पुस्ताले यस्तो जोश देखाउनु राम्रो संकेत हो,” उनले भने।

त्यस्तै, स्थानीय व्यापारीहरूले पनि विगतमा हुने गरेका देखावटी कार्यक्रमभन्दा यो फरक रहेको प्रतिक्रिया दिए। उनीहरूले भने, “नेताहरू चुनावमा मात्र आउँथे, तर मदन राजजीले पसिना बगाएर सडक सफा गरेको देख्दा खुशी लाग्यो। यो साच्चिकै उदाहरणीय काम हो।”

कञ्चनपुरको निर्वाचन क्षेत्र नं १ को डोकेबजारदेखि झिलमिलासम्मको पैदल यात्राबाट आफूले क्षेत्र नं १ को भू-बनोट, सामाजिक अवस्था र जनताको समस्या नजिकबाट बुझेको मदन राज उपाध्यायले बताएका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ