काठमाडौँ। नेकपा (एमाले) कञ्चनपुरका जिल्ला सचिव एवं युवा नेता पल्लव राज भट्टद्वारा लिखित पुस्तक ‘महाकाली सन्धि : भ्रम र वास्तविकता’ को आज एक विशेष समारोहका बीच विमोचन गरिएको छ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कमिटी बैठक चलिरहेको स्थानमा आयोजित कार्यक्रममा उक्त कृतिको औपचारिक विमोचन गर्नुभएको हो ।

विमोचन कार्यक्रममा पार्टी महासचिव शंकर पोखरेल, उपमहासचिव लेखराज भट्ट, सचिव महेश बस्नेत, सुदूरपश्चिम इन्चार्ज गणेश ठगुन्ना तथा कञ्चनपुर इन्चार्ज निरु देवी पाल लगायतका शीर्ष नेताहरूको उपस्थिति रहेको थियो । व्यस्त कार्यतालिका र केन्द्रीय कमिटीको महत्त्वपूर्ण बैठक चलिरहेकै समयमा वातावरण मिलाई पुस्तक सार्वजनिक गरिएकोमा लेखक भट्टले पार्टी नेतृत्वप्रति कृतज्ञता व्यक्त गर्नुभएको छ ।

लेखक भट्टको पुस्तकमा नेपाल र भारतबीच महाकाली नदी सम्बन्धी भएका विभिन्न सन्धि सम्झौताहरू, तिनको ऐतिहासिक पृष्ठभूमि र वर्तमान अवस्थालाई समेटिएको छ । विशेषगरी महाकाली सन्धिका विषयमा समाजमा व्याप्त भ्रम र तथ्यगत वास्तविकतालाई चिर्ने प्रयास लेखकले गरेका छन् । लेखक भट्टले आफ्नो कृतिमा महाकालीको पानी र भौगोलिक अवस्थितिलाई लिएर तथ्यपरक विश्लेषण प्रस्तुत गरेको बताउनुभएको छ ।

पुस्तक सार्वजनिक गर्दै लेखक भट्टले यो कृतिमा आफूले महाकाली सन्धिबारे सत्यतथ्य बाहिर ल्याउने र भ्रम निवारण गर्ने प्रयास गरेको उल्लेख गर्नुभयो । उहाँले यस पुस्तकलाई अध्ययन गरी रचनात्मक सुझाव दिन सम्पूर्ण पाठक तथा शुभचिन्तकहरूमा आग्रह समेत गर्नुभएको छ । कञ्चनपुरको राजनीति र विकासमा सक्रिय भट्टको यो लेखनले नेपालको कूटनीतिक आयामलाई बुझ्न मद्दत पुग्ने अपेक्षा गरिएको छ ।






