बेलडाँडी गाउँपालिकामा माघ १ गते देखी स्वीकृत दरबन्दी बाहेकका करार र ज्यालादारी कर्मचारीको सम्झौता नवीकरण नहुने

कञ्चन आवाज संवाददाता | बेलडाँडी, कञ्चनपुर। कञ्चनपुरको बेलडाँडी गाउँपालिकाले स्वीकृत दरबन्दी बाहेकका पदमा कार्यरत कर्मचारीहरूको सम्झौता नवीकरण नगर्ने निर्णय गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै स्वीकृत दरबन्दी भन्दा बाहिर रहेका अस्थायी, करार र ज्यालादारी कर्मचारीहरूको म्याद यही माघ १ गतेदेखि लागू हुने गरी थप नगर्ने जनाएको हो ।

नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०८२/०६/०५ गतेको निर्णय तथा अर्थ मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको परिपत्रलाई आधार मान्दै गाउँपालिकाले यस्तो कदम चालेको हो । संघीय सरकारले संघ, प्रदेश र स्थानीय तहमा स्वीकृत दरबन्दी बाहेकका पदमा अस्थायी, करार र ज्यालादारीमा कर्मचारी नराख्ने नीतिगत निर्णय गरेबमोजिम बेलडाँडी गाउँकार्यपालिकाले पनि सोही अनुरूपको निर्णय कार्यान्वयनमा ल्याएको हो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकृष्ण वि.क. द्वारा हस्ताक्षरित सूचनामा उल्लेख भएअनुसार, गाउँकार्यपालिकाको निर्णयबमोजिम गाउँपालिका अन्तर्गत स्वीकृत दरबन्दी बाहेक अन्य रूपमा कार्यरत कर्मचारीहरूको करार तथा ज्यालादारी सम्झौता २०८२/१०/०१ देखि नवीकरण गरिने छैन ।

संघीय सरकारले प्रशासनिक खर्च कटौती र वित्तीय अनुशासन कायम गर्न भन्दै देशभरका स्थानीय तहहरूलाई दरबन्दी बाहेकका कर्मचारी नराख्न निर्देशन दिएसँगै बेलडाँडी गाउँपालिकाले यो निर्णय लिएको देखिन्छ । यो निर्णयसँगै गाउँपालिकामा लामो समयदेखि दरबन्दी बाहिर रहेर सेवा प्रवाह गरिरहेका कर्मचारीहरू प्रत्यक्ष प्रभावित हुने भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ