काठमाडौँ। निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई वैधानिक रूपमा आधिकारिकता प्रदान गरेको छ । आयोगले शुक्रबार एक निर्णय गर्दै थापालाई पार्टी सभापतिको रूपमा औपचारिक मान्यता दिएको हो ।
राजधानीको भृकुटीमण्डपमा पुस २७ देखि ३० गतेसम्म सम्पन्न विशेष महाधिवेशनबाट थापा बहुमत महाधिवेशन प्रतिनिधिहरूको समर्थनमा सभापति पदमा चयन भएका थिए । नवनिर्वाचित सभापति थापा बिहीबार बसेको केन्द्रीय कार्यसमितिको बैठकको निर्णय लिएर आयोग पुगेका थिए । दलको आधिकारिकता दाबी गर्दै पेस गरिएका माइन्युट, उपस्थित प्रतिनिधिहरूको हस्ताक्षर र पार्टी विधानका सम्पूर्ण कागजातहरूको विस्तृत अध्ययन तथा प्रमाणीकरण गरेपछि आयोगले थापा नेतृत्वको कमिटीलाई नै मूल पार्टीको मान्यता दिने निर्णय गरेको हो ।
आयोगको यस निर्णयसँगै नेपाली कांग्रेसभित्रको नेतृत्व विवादको औपचारिक निरूपण भएको छ भने पार्टीको नेतृत्व अब विधिवत रूपमा नयाँ कार्यसमितिको काँधमा आएको छ ।





