कञ्चनपुर, बेलौरी । कञ्चनपुरको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालयले औपचारिक कार्यतालिका सार्वजनिक गरेको छ । निर्वाचन आयोगको निर्देशन अनुसार बेलौरी नगरपालिका–४ स्थित निर्वाचन अधिकृतको कार्यालयले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७ बमोजिम शुक्रबार निर्वाचन कार्यक्रमको सूचना जारी गरेको हो ।

सार्वजनिक गरिएको कार्यतालिका अनुसार निर्वाचनको मुख्य दिन अर्थात् मतदान २०८२ साल फागुन २१ गतेका लागि तय गरिएको छ । उक्त दिन बिहान ७:०० बजेदेखि साँझ ५:०० बजेसम्म सम्बन्धित मतदान केन्द्रहरूमा मतदान हुनेछ । निर्वाचन प्रक्रियालाई व्यवस्थित र मर्यादित बनाउन आयोगले उम्मेदवारको मनोनयनदेखि अन्तिम नामावली प्रकाशन र चुनाव चिन्ह प्रदान गर्नेसम्मको स्पष्ट समयसीमा तोकेको छ ।
निर्वाचन कार्यक्रम अनुसार उम्मेदवारको मनोनयनपत्र दर्ता प्रक्रिया २०८२ माघ ६ गते बिहान १०:०० बजेदेखि साँझ ५:०० बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा चल्नेछ । सोही दिन साँझ ५:०० देखि ७:०० बजेसम्म मनोनयन पत्र दर्ता भएका उम्मेदवारको नामावलीको सूची प्रकाशन गरिनेछ । उम्मेदवारको विरोधमा उजुरी दिन चाहनेहरूका लागि माघ ७ गते बिहान १०:०० देखि दिउँसो ३:०० बजेसम्मको समय छुट्याइएको छ ।
मनोनयन पत्र र परेका उजुरी उपर जाँचबुझ गर्ने कार्य माघ ७ गते दिउँसो ३:०० बजेदेखि माघ ८ गते साँझ ५:०० बजेसम्म हुनेछ । त्यसलगत्तै माघ ८ गते साँझ ५:०० देखि ७:०० बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिनेछ । उम्मेदवारी फिर्ता लिन चाहने व्यक्तिहरूले माघ ९ गते बिहान १०:०० देखि दिउँसो १:०० बजेसम्म आफ्नो नाम फिर्ता लिन सक्नेछन् । सोही दिन दिउँसो १:०० देखि ३:०० बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी साँझ ४:०० देखि ७:०० बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने कार्यक्रम रहेको छ ।
निर्वाचन अधिकृतको कार्यालयले जारी गरेको यो सूचनासँगै कञ्चनपुरको दक्षिणी भेग मानिने क्षेत्र नम्बर १ मा चुनावी सरगर्मी ह्वात्तै बढेको छ । बेलौरीस्थित निर्वाचन अधिकृतको कार्यालयले निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सबै सरोकारवाला निकाय, राजनीतिक दल र मतदातालाई सहयोगको लागि अपिल समेत गरेको छ । निर्वाचन कार्यक्रमको यो सूचना मिति माघ २ गते गते साँझ ४:३० बजे निर्वाचन अधिकृतद्वारा हस्ताक्षर गरी जारी गरिएको हो ।





