काठमाडौँ । निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई नेपाली कांग्रेसको वैधानिक आधिकारिकता प्रदान गरेलगत्तै शेरबहादुर देउवा पक्षले आकस्मिक रूपमा पार्टीको विघटित केन्द्रीय समितिको बैठक बोलाएको छ। आयोगको निर्णयले पार्टी राजनीतिमा नयाँ तरंग ल्याए सँगै पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले शनिबार बिहानका लागि सो बैठक डाकेका हुन्।
शनिबार बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बोलाइएको उक्त बैठकमा साविकको केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा सातै प्रदेशका प्रदेश सभापतिहरूलाई उपस्थितिका लागि खबर पठाइएको छ। शुक्रबार साँझ निर्वाचन आयोगले थापा नेतृत्वको कार्यसमितिलाई वैधानिकता दिएपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न यो बैठक केन्द्रित हुने बुझिएको छ।
स्मरण रहोस्, नेपाली कांग्रेसको नियमित महाधिवेशन समयमै हुन नसकेपछि ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर संकलन गरी काठमाडौँको भृकुटीमण्डपमा विशेष महाधिवेशन सम्पन्न भएको थियो। सो विशेष महाधिवेशनले गगन थापालाई सभापतिमा निर्वाचित गरेको थियो भने उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल, महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरेसहित १३ सदस्यीय पदाधिकारी र १३४ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको थियो।
आयोगको फैसला आउनुअघि शुक्रबार नै पूर्वकार्यवाहक सभापति खड्काले सानेपामा पत्रकार सम्मेलन आयोजना गरी आफूहरूलाई आधिकारिकता नदिए देशव्यापी आन्दोलनमा उत्रिने चेतावनी दिएका थिए। निर्वाचन आयोगको पछिल्लो निर्णयसँगै देउवा पक्ष अब कसरी अगाडि बढ्छ भन्ने विषय शनिबारको बैठकले तय गर्ने देखिन्छ।





