निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा समूह सर्वोच्च जाँदै, आजै रिट दर्ता गर्ने तयारी

काठमाडौं। नेपाली कांग्रेसको गगन थापा नेतृत्वको समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतमा चुनौती दिने भएको छ। देउवा समूहले आयोगको निर्णय खारेजीको माग गर्दै आजै अदालतमा रिट दर्ता गर्ने तयारी थालेको हो।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले कानुनी उपचारका लागि आज सर्वोच्च अदालत जान लागेको पुष्टि गरे। पौडेलका अनुसार रिट निवेदन दर्ताका लागि आवश्यक सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ। ‘हामी आज रिट लिएर जाने तयारीमा छौं,’ उनले भने।

यसअघि शनिबार बसेको देउवा पक्षीय केन्द्रीय कार्यसमिति बैठकले आयोगको निर्णयविरुद्ध राजनीतिक र कानुनी दुवै मोर्चामा प्रतिवाद गर्ने निर्णय गरेको थियो। कानुनी लडाइँको जिम्मा तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई दिइएको छ। नेता खड्काले अहिले रिट निवेदनको मस्यौदा तयार पार्न कानुन व्यवसायीहरूसँग सघन छलफल गरिरहेका छन्। उनलाई वरिष्ठ अधिवक्ता खम्मबहादुर खाती, शेरबहादुर केसी लगायतका कानुनविद्हरूले सघाइरहेको स्रोतले जनाएको छ।

गगन थापा र विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशन आह्वान गरी थापालाई सभापति चयन गरेको नयाँ कार्यसमितिलाई निर्वाचन आयोगले आधिकारिकता दिएपछि विवाद उत्कर्षमा पुगेको हो। यता, देउवा पक्षले भने नियमित महाधिवेशनको मिति तय भइसकेको अवस्थामा विशेष महाधिवेशनको औचित्य नहुने जिकिर गर्दै त्यसलाई पूर्ण रूपमा अस्वीकार गर्दै आएको छ।

देशको सबैभन्दा ठूलो लोकतान्त्रिक पार्टीभित्रको यो विवाद अब अदालतमा प्रवेश गरेसँगै कांग्रेसको आन्तरिक राजनीति थप पेचिलो बन्ने र यसले आसन्न राष्ट्रिय राजनीतिमा समेत प्रभाव पार्ने देखिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ