बेलौरी, कञ्चनपुर। नेकपा एमालेले अन्तिम समयमा आएर सुदूरपश्चिम प्रदेशका दुई निर्वाचन क्षेत्रमा उम्मेदवार हेरफेर गरेको छ। विशेषगरी कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा शनिबार तय गरिएको उम्मेदवार परिवर्तन गर्दै एमालेले पूर्वसांसद तारालामा तामाङलाई टिकट दिने निर्णय गरेको स्रोतले बताएको छ।
शनिबार सम्पन्न एमाले केन्द्रीय सचिवालयको बैठकले कञ्चनपुर–१ बाट कमला बोहरालाई प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाउने निर्णय गरेको थियो। तर, २४ घण्टा नबित्दै आइतबार एक्कासी बोहराको नाम हटाएर विघटित प्रतिनिधि सभाका सदस्य समेत रहेका तामाङको नाम समावेश गरिएको हो। पार्टी उच्च स्रोतका अनुसार सचिवालय बैठकको निर्णय माइन्युट गर्ने क्रममा नै बोहराको नाम सच्याएर तामाङको नाम लेखिएको बुझिएको छ।
यो आकस्मिक निर्णयसँगै कञ्चनपुरको दक्षिणी क्षेत्रको चुनावी राजनीतिमा नयाँ तरङ्ग पैदा भएको छ। तामाङ यस क्षेत्रका पुराना र प्रभावशाली नेता मानिन्छन्। एमालेले कञ्चनपुरसँगै बझाङ जिल्लामा पनि पूर्व निर्धारित उम्मेदवार परिवर्तन गरेको सूचना प्राप्त भएको छ। मनोनयन दर्ताको संघारमा गरिएको यो परिवर्तनलाई एमाले भित्रको आन्तरिक शक्ति सन्तुलन मिलाउने र जित सुनिश्चित गर्ने रणनीतिको रूपमा हेरिएको छ





