धनगढी।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशका १२ वटा निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवारहरूको अन्तिम नामावली टुंगो लगाएको छ। लामो रस्साकस्सी र आन्तरिक समीकरणको व्यवस्थापनपछि सोमबार पार्टी केन्द्रले उम्मेदवारहरूको नाम सार्वजनिक गरेको हो, जसमा कतिपय पुराना अनुहार दोहोरिएका छन् भने कतिपय ‘सरप्राइज’ नामहरू अगाडि सारिएका छन्।
विशेष गरी राजनीतिक वृत्तमा सर्वाधिक चासोका साथ हेरिएको कैलाली क्षेत्र नं. ५ मा कांग्रेस नेतृ डा. आरजु राणा देउवाको सट्टा नरनारायण शाह (मनु) ले टिकट पाएका छन्। आरजु राणाको ‘गृह क्षेत्र’ मानिने यस ठाउँमा शाहले बाजी मारेपछि सुदूरपश्चिम कांग्रेसमा नयाँ तरङ्ग पैदा भएको छ।
कञ्चनपुरको दक्षिणी क्षेत्र समेटिएको क्षेत्र नम्बर १ मा कांग्रेसले गोपीप्रसाद उपाध्यायलाई उम्मेदवार बनाएको छ।कञ्चनपुरका अन्य दुई क्षेत्रको बारेमा भने निर्णय सार्वजनिक भइसकेको छैन।
कांग्रेसले कैलालीका पाँचवटै निर्वाचन क्षेत्रमा उम्मेदवार तय गरेको छ।
-
क्षेत्र नं. १: जनकराज चौधरी
-
क्षेत्र नं. २: विजय स्वार
-
क्षेत्र नं. ३: भीम बडुवाल
-
क्षेत्र नं. ४: सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायर
-
क्षेत्र नं. ५: नरनारायण शाह (मनु)
पहाडी जिल्लातर्फ पनि कांग्रेसले प्रभावशाली नेताहरूलाई मैदानमा उतार्ने निर्णय गरेको छ।
-
दार्चुला: संयुक्त राष्ट्रसंघको जागिर राजीनामा दिएर राजनीतिमा आएका धर्मानन्द जोशीले टिकट पाएका छन्। यसअघि चर्चामा रहेका पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडूले चुनाव नलड्ने घोषणा गरेपछि जोशीले अवसर पाएका हुन्।
-
बैतडी: नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष एवं कांग्रेस जिल्ला सभापति चतुरबहादुर चन्द।
-
डोटी: सुदूरपश्चिममा विशेष महाधिवेशन पक्षधर मानिने भरतबहादुर खड्का।
-
अछाम: क्षेत्र नं. १ मा पूर्व जिल्ला सभापति भरतकुमार स्वाँर र क्षेत्र नं. २ मा जिल्ला सभापति पुष्पबहादुर शाह।
-
बाजुरा: पूर्व भूमिसुधार सहायक मन्त्री जनकराज गिरी।
सार्वजनिक सूची हेर्दा कांग्रेसले संस्थापन र इतर पक्ष दुवैलाई समेट्ने प्रयास गरेको देखिन्छ। अछाम–१ का स्वाँर र डोटीका खड्का विशेष महाधिवेशनको पक्षमा खुलेका नेता हुन् भने अछाम–२ का शाह संस्थापन पक्षधर मानिन्छन्। यसपटकको टिकट वितरणले कांग्रेस भित्रको गुटगत सन्तुलन मिलाउने र नयाँ अनुहारलाई पनि अवसर दिने रणनीति लिएको प्रष्ट हुन्छ। सुदूरपश्चिमका बाँकी ४ निर्वाचन क्षेत्र (डडेलधुरा र कञ्चनपुरका २ क्षेत्र) को निर्णय भने अझै सार्वजनिक हुन बाँकी छ।





