दल र उम्मेदवारले छुट्टै बैंक खाता सञ्चालन गर्नुपर्ने राष्ट्र बैंकको निर्देशन

बेलौरी, कञ्चनपुर । आगामी निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउने उद्देश्यले नेपाल राष्ट्र बैंकले राजनीतिक दल तथा उम्मेदवारहरूलाई निर्वाचन प्रयोजनका लागि अनिवार्य रूपमा छुट्टै बैंक खाता खोल्न निर्देशन दिएको छ। निर्वाचन आयोगको आग्रहमा केन्द्रीय बैंकले सोमबार एक परिपत्र जारी गर्दै ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूमा छुट्टै खाता सञ्चालन गरेर मात्र आर्थिक कारोबार गर्न दल तथा उम्मेदवारहरूलाई निर्देशित गरेको हो।

राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले जारी गरेको निर्देशन अनुसार, अब राजनीतिक दल, तिनका उम्मेदवार (समानुपातिक तर्फका समेत) र स्वतन्त्र उम्मेदवारहरूले निर्वाचन अवधिभर हुने सम्पूर्ण आम्दानी र खर्चको विवरण बैंकिङ प्रणाली मार्फत गर्नुपर्नेछ। आयोग मातहतका प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयहरूको सिफारिसमा उम्मेदवारहरूले आफूलाई पायक पर्ने बैंक वा वित्तीय संस्थामा यस्तो खाता खोल्नुपर्ने व्यवस्था गरिएको छ।

यसअघि एउटै बैंकमा एकै प्रकृतिका एकभन्दा बढी खाता खोल्न नपाइने व्यवस्था रहेकोमा, राष्ट्र बैंकले निर्वाचन प्रयोजनका लागि भने विशेष सहुलियत प्रदान गरेको छ। राष्ट्र बैंकको निर्देशनमा भनिएको छ, “बैंक वा वित्तीय संस्थाले प्राकृतिक व्यक्तिको नाममा स्वदेशी मुद्रामा एउटै प्रकृतिको एकभन्दा बढी खाता खोल्न नपाइने साविकको व्यवस्था भए पनि निर्वाचनका लागि खोलिने खाताको हकमा आयोगले खाता बन्द गर्न नभनेसम्मका लागि यो बन्देज लागू हुने छैन।”

यो व्यवस्था सुदूरपश्चिम प्रदेश लगायत कञ्चनपुर जिल्लाका स्थानीय तह र आगामी निर्वाचनमा सहभागी हुने सबै उम्मेदवारका लागि बाध्यात्मक हुनेछ। निर्वाचन आयोगले तोकेको खर्च सीमाको पालना भए/नभएको अनुगमन गर्न र आर्थिक अनुशासन कायम राख्न यो कदम कोसेढुङ्गा साबित हुने अपेक्षा गरिएको छ। उम्मेदवारहरूले निर्वाचन सकिएपछि आयोगको निर्देशन बमोजिम उक्त खाता बन्द गर्नुपर्नेछ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ