बेलौरी, कञ्चनपुर
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना उम्मेदवार खगेन्द्र सुनारको विगतका विवादित अभिव्यक्तिहरूलाई लिएर आधिकारिक स्पष्टीकरण सार्वजनिक गरेको छ। सामाजिक सञ्जालमा सुनारका केही पुराना अभिव्यक्तिहरूले धार्मिक तथा सांस्कृतिक भावनामा चोट पुर्याएको भन्दै जनचासो बढेपछि पार्टीको केन्द्रीय कार्यालयले आफ्नो औपचारिक धारणा स्पष्ट पारेको हो।
महामन्त्री कविन्द्र बुर्लाकोटीद्वारा जारी विज्ञप्तिमा सुनारले पार्टीमा आबद्ध हुनुपूर्व व्यक्त गरेका केही धारणाहरूले समाजमा अन्योल सिर्जना गरेको स्वीकार गरिएको छ। ती अभिव्यक्तिहरूबाट उत्पन्न भ्रम र चोट पुगेको भावनाप्रति उम्मेदवार सुनारले पूर्ण रूपमा क्षमायाचना गर्दै आत्मालोचना गरिसकेको विज्ञप्तिमा उल्लेख छ। सुनारले आफू व्यक्तिगत रूपमा शाकाहारी रहेको, कुनै पनि पशुपक्षी हत्याको पक्षमा नरहेको र राष्ट्रिय जनावर गाईप्रतिको सम्मानमा कुनै द्विविधा नरहेको कुरा सार्वजनिक रूपमै स्पष्ट पारिसकेको पार्टीले जनाएको छ।
यसै सन्दर्भमा पार्टीले उम्मेदवार सुनारलाई भविष्यमा आफ्ना अभिव्यक्ति र व्यवहारमा थप संयम, परिपक्वता र सार्वजनिक मर्यादा कायम राख्न सचेत गराएको छ। उहाँको उद्देश्य कुनै पनि धर्म, संस्कृति वा राष्ट्रिय प्रतीकको अपमान गर्ने नरहेकोमा पार्टी आश्वस्त रहेको समेत विज्ञप्तिमा जनाइएको छ। रास्वपाको विधान र प्रस्तावनाले नेपालको इतिहास, सनातन सभ्यता तथा धार्मिक सांस्कृतिक विविधतामा आधारित सहअस्तित्वलाई नै आफ्नो मूल मर्म मानेको कुरालाई पार्टीले पुन: दोहोर्याएको छ।
पार्टीले नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय एकतालाई अक्षुण्ण राख्न आफू सधैँ कटिबद्ध रहेको प्रतिबद्धता व्यक्त गरेको छ। रास्वपाले कुनै पनि प्रकारका उत्तेजनात्मक गतिविधि वा सामाजिक सद्भाव बिगार्ने तत्वहरूको पक्षमा नरहेको प्रष्ट पार्दै आफ्ना उम्मेदवारहरू संसद्मा समेत मर्यादित र विधिको शासनलाई सम्मान गर्ने नेतृत्वका रूपमा प्रस्तुत हुने विश्वास दिलाएको छ। पार्टीले विधिको शासन, सामाजिक न्याय र समावेशी समाज निर्माणको अभियानमा आफूहरू अविचलित रहने संकल्प समेत गरेको छ।






