कञ्चनपुर, माघ १६ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको सरगर्मी बढ्दै जाँदा कञ्चनपुर क्षेत्र नम्बर १ मा चुनावी माहौल थप तातेको छ । यसै बीच, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट यस क्षेत्रकी उम्मेदवार बीना मगरविरुद्ध सामाजिक सञ्जालमा फैलाइएको भ्रामक प्रचारप्रति पार्टीले गम्भीर आपत्ति जनाएको छ ।
कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ का संयोजक देवीलाल चौधरीले एक प्रेस विज्ञप्ति जारी गर्दै उम्मेदवार मगरको चरित्र हत्या गर्ने उद्देश्यले नियोजित रूपमा दुष्प्रचार गरिएको ठहर गर्नुभएको छ । ‘जेनजी विद्रोह’ पछिको बदलिएको राजनीतिक परिस्थितिमा हुन लागेको यस निर्वाचनमा लोकतन्त्र र संविधानमा विश्वास गर्ने दलहरू चुनावी प्रतिस्पर्धामा होमिएका बेला यस्ता ‘भ्रम खेती’ ले स्वस्थ लोकतान्त्रिक अभ्यासलाई प्रहार गरेको नेकपाको निष्कर्ष छ ।
प्रेस विज्ञप्तिमा उल्लेख भएअनुसार, मिन गुरुङ नामक फेसबुक प्रयोगकर्ताले उम्मेदवार मगरविरुद्ध लगाएका आरोपहरू पूर्णतः निराधार र कपोलकल्पित रहेका छन् । विशेषगरी बेल्जियममा ‘पाँच खुसी’ नामक रेस्टुरेन्ट रहेको भनी गरिएको प्रचारलाई पार्टीले ‘सफेद झुट’ को संज्ञा दिएको छ । क्षेत्र नम्बर १ मा मगरको पक्षमा बढ्दो जनलहरबाट अत्तालिएका केही तत्वहरूले विदेशमा रहेका नेपालीहरूलाई उक्साएर यस्तो षड्यन्त्र रचेको संयोजक चौधरीले बताउनुभएको छ ।
नेकपाले कुनै तथ्य, प्रमाण र आधारबिना नै यस्ता भ्रामक भिडियो तथा सामग्रीहरू सेयर गर्ने सञ्चार माध्यमहरूको भूमिकाप्रति पनि असन्तुष्टि व्यक्त गरेको छ । “तथ्यहीन सामग्री सम्प्रेषण गर्दा स्वयं सञ्चार जगतको विश्वसनीयता र गरिमा घट्ने कुरामा ध्यान दिन जरुरी छ,” विज्ञप्तिमा भनिएको छ ।
निर्वाचनको मुखमा कालकोठाभित्र बसेर रचिएका यस्ता षड्यन्त्रमुलुक कार्यहरू यथाशीघ्र रोक्न आग्रह गर्दै नेकपाले अन्यथा कनुनी प्रक्रियामा जाने चेतावनी समेत दिएको छ । साथै, विपक्षी समूहले फैलाउने यस्ता भ्रममा नपर्न आम क्षेत्रवासी दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक अनुरोध गरिएको छ ।





