बेलौरी, कञ्चनपुर
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशले वर्तमान प्रदेश सरकार पूर्णतः असफल भएको दाबी गर्दै १२ बुँदे ‘अभियोग पत्र’ सार्वजनिक गरेको छ । साविकको माओवादी केन्द्र, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको एकीकरणपछि प्रदेशसभामा सबैभन्दा ठूलो दल बनेको नेकपाले बुधबार पत्रकार सम्मेलनमार्फत सरकारको चर्को आलोचना गरेको हो ।
नेकपा संसदीय दलका नेता खगराज भट्टले सरकारको दोस्रो कार्यकालको आधा समय बितिसक्दा पनि प्रदेशमा अस्थिरता, निष्क्रियता र दिशाहीनता मात्र देखिएको बताए । “सरकारबाट अपेक्षित कामहरू कछुवा गतिमा मात्र होइन, कतिपय अवस्थामा पूर्ण रूपमा ठप्प छन्,” नेता भट्टले भने, “आज सरकार चिर निन्द्रामा छ । न विकास खर्चले गति लिएको छ, न जनताले सरकारको अनुभूति गर्न पाएका छन् । यस्तो नेतृत्वले सरकार चलाइरहनु प्रदेशलाई अझ पछि धकेल्नु हो ।”
नेकपाले सरकारमाथि लगाएका प्रमुख आरोपहरूमा प्रदेश राजधानी कार्यान्वयनमा पूर्ण असफलता, आवश्यक कानुन निर्माणमा ढिलाइ, बजेट कार्यान्वयनमा कमजोरी र मुख्यमन्त्री तथा मन्त्रालयहरूमा मौलाएको बेथिति रहेका छन् । यसका साथै, नीति आयोगमा चरम लापरबाही, विना आयोजना लगानी सम्मेलनको नाममा अपारदर्शी खर्च, सर्वोच्च अदालतको आदेश कार्यान्वयनमा आलटाल र ऐन नबनाई गठन आदेशको भरमा शासन चलाउन खोजेको जस्ता गम्भीर विषयहरू उठाइएको छ ।
विपत्ति र दुर्घटनाका बेला केवल विज्ञप्ति जारी गर्ने र राहत घोषणामा सीमित रहने सरकारको प्रवृत्तिको पनि नेकपाले कडा आलोचना गरेको छ । “बैतडी बस दुर्घटनाको छानबिनसम्म गर्न नसक्ने सरकारबाट भूकम्प, बाढी र पहिरो पीडितको पुनस्र्थापनाको आस गर्नु दिवास्वप्न मात्र हो,” भट्टले थपे ।
सुशासन, पारदर्शिता र जवाफदेहिताको अभाव रहेको औंल्याउँदै नेकपाले सरकारलाई सच्चिन चेतावनी दिएको छ । प्रदेशमा राजनीतिक समीकरण फेरिएसँगै प्रमुख प्रतिपक्षीको भूमिकामा देखिएको नेकपाको यो कडा प्रस्तुतिले सुदूरपश्चिमको राजनीतिमा नयाँ तरङ्ग ल्याउने संकेत गरेको छ ।





