धनगढी।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा आज विशाल ‘परिवर्तन उद्घोष सभा’ आयोजना गर्ने भएको छ। आसन्न निर्वाचनलाई लक्षित गरी आयोजना गरिएको उक्त चुनावी सभालाई रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
सभापति लामिछाने चुनावी अभियानका क्रममा मंगलबार नै सुदूरपश्चिम आइपुग्नुभएको हो। धनगढीमा हुने मुख्य सभाअघि उहाँले आजै कञ्चनपुरका निर्वाचन क्षेत्र नम्बर २ र ३ मा आयोजित विभिन्न चुनावी कार्यक्रमहरूमा सहभागिता जनाउनुभएको छ। सभापति लामिछानेले स्थानीय स्तरमा पार्टीको एजेन्डा र परिवर्तनको आवश्यकताका बारेमा मतदाताहरूसँग छलफल गर्नुभएको थियो।
यसैगरी, धनगढीमा हुने विशेष सभालाई सम्बोधन गर्न रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह पनि धनगढी पुग्ने कार्यक्रम छ। रास्वपा सुदूरपश्चिमका नेता हरि रेग्मीका अनुसार शाह केही समयमै धनगढी आइपुग्ने र सभालाई सम्बोधन गर्ने तयारी पुरा भएको छ। यस सभाले प्रदेशभरका कार्यकर्ता र समर्थकहरूमा नयाँ उत्साह थप्ने विश्वास गरिएको छ।
उक्त परिवर्तन उद्घोष सभामा सुदूरपश्चिम प्रदेशका १६ वटै निर्वाचन क्षेत्रका रास्वपा उम्मेदवारहरूको उपस्थिति रहने बताइएको छ। उम्मेदवारहरूले आआफ्नो क्षेत्रको प्रतिबद्धतासहित चुनावी रणनीति र भावी योजनाका बारेमा समेत आम नागरिकलाई जानकारी गराउने छन्।
सुदूरपश्चिममा पछिल्लो समय वैकल्पिक राजनीतिक शक्तिका रूपमा रास्वपाले आफ्नो सक्रियता बढाउँदै लगेको छ। आजको यस सभालाई प्रदेशको राजनीतिक शक्ति सन्तुलनका दृष्टिले निकै अर्थपूर्ण रूपमा हेरिएको छ। स्थानीय प्रशासनले सभाको सुरक्षा र व्यवस्थापनका लागि आवश्यक सतर्कता अपनाएको छ।





