बेलौरी, कञ्चनपुर
कञ्चनपुरस्थित शिक्षा विकास तथा समन्वय एकाइले आगामी फागुन २१ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै जिल्लाका सम्पूर्ण शिक्षक तथा विद्यालय कर्मचारीहरूलाई निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्न कडा निर्देशन जारी गरेको छ।
निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, निष्पक्ष, पारदर्शी र भयरहित वातावरणमा सम्पन्न गर्न भन्दै एकाइले परिपत्र जारी गरेको हो। एकाइ प्रमुख तथा उपसचिव लक्ष्मण गिरीद्वारा जारी गरिएको सूचनामा निर्वाचन आयोगबाट स्वीकृत निर्वाचन आचारसंहिता, २०८२ को दफा १० मा उल्लेखित आचरणहरू अक्षरशः पालना गर्न जिल्लाभरिका शैक्षिक जनशक्तिलाई आग्रह गरिएको छ। यससँगै अब जिल्लाका कुनै पनि शिक्षक र विद्यालय कर्मचारीले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन पाउने छैनन्।
जारी निर्देशनअनुसार कुनै पनि राजनीतिक दल वा उम्मेदवारको कार्यक्रम, सभा वा सम्मेलनका लागि विद्यालयका सवारी साधन, भवन वा अन्य शैक्षिक सामग्री प्रयोग गर्न दिन पूर्ण रूपमा रोक लगाइएको छ। यसका साथै निर्वाचन आयोगले तयार पारेको निर्वाचन शिक्षामूलक कार्यक्रम र सामग्री बाहेक अन्य कुनै पनि राजनीतिक प्रकृतिका कार्यक्रम गर्न तथा प्रचारप्रसारका सामग्री विद्यालय परिसरमा राख्न र टाँस्न निषेध गरिएको छ।
यसपटक प्रविधिको सम्भावित दुरुपयोग रोक्न शिक्षा विकास तथा समन्वय एकाइले विशेष सतर्कता अपनाएको छ। शिक्षक तथा कर्मचारीले आर्टिफिसियल इन्टेलिजेन्स अर्थात् एआईको प्रयोग गरी वा नगरी सामाजिक सञ्जालमा कुनै पनि दल वा उम्मेदवारको पक्ष वा विपक्षमा सन्देश, सूचना वा प्रचार सामग्री पोस्ट, रिपोस्ट वा सेयर गर्न पाउने छैनन्। त्यस्ता राजनीतिक सामग्रीमा कमेन्ट, प्रतिकमेन्ट गर्ने, लाइभ स्ट्रिमिङ गर्ने, कसैलाई ट्याग वा मेन्सन गर्ने तथा सामाजिक सञ्जालमार्फत मत माग्ने जस्ता सम्पूर्ण कार्यमा पूर्ण प्रतिबन्ध लगाइएको छ।
सामाजिक सञ्जाल तथा अन्य कुनै पनि माध्यमबाट निर्वाचन आचारसंहिताको उल्लङ्घन भएको पाइएमा जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिबाट कानुनबमोजिम तत्काल कारबाही अगाडि बढाइने चेतावनी एकाइले दिएको छ।
यस कदमले कञ्चनपुरको शैक्षिक क्षेत्रलाई दलीय राजनीतिबाट मुक्त राखी समग्र निर्वाचन प्रक्रियालाई शान्तिपूर्ण र मर्यादित बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।






