बीना मगरलाई समर्थन गर्दै मितेरी पार्टीका उम्मेदवार सियाराम राना नेकपामा प्रवेश

बेलौरी, कञ्चनपुर । १३ फागुन

कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा चुनावी सरगर्मी बढिरहेका बेला मितेरी पार्टी नेपालका उम्मेदवार सियाराम राना आफ्नो उम्मेदवारी परित्याग गरी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । लालझाडी गाउँपालिका वडा नम्बर ३ निवासी २७ वर्षीय युवा उम्मेदवार रानाले बुधबार आयोजित एक कार्यक्रमका बीच नेकपाको सदस्यता ग्रहण गरेका हुन् ।

नेकपाका केन्द्रीय सदस्य जीवनराज थापाका अनुसार उम्मेदवार रानासँगै मितेरी पार्टीका दर्जनौँ नेता तथा कार्यकर्ताहरू पनि नेकपामा समाहित भएका छन् । क्षेत्रको समग्र विकास र समृद्धिका लागि व्यक्तिगत उम्मेदवारीभन्दा बलियो राजनीतिक शक्ति आवश्यक रहेको महसुस गर्दै आफूले यो निर्णय लिएको रानाले बताएका छन् । उनले यस क्षेत्रमा नेकपाकी उम्मेदवार बीना मगरको विकल्प नरहेको र उनकै नेतृत्वमा विकास सम्भव हुने विश्वास व्यक्त गरे ।

परिवर्तनको नारासहित चुनावी मैदानमा उत्रिएका ‘जेन्जी’ पुस्ताका उम्मेदवार रानालाई नेकपा उम्मेदवार बीना मगर लगायतका नेताहरूले स्वागत गर्दै चुनावी अभियानमा सक्रिय हुन आह्वान गरेका छन् । यसअघि सोही दिन प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार देपेन्द्र बहादुर शाहीसहित ५१ जना कार्यकर्ता नेकपामा प्रवेश गरिसकेका छन् । दुई फरक दलका उम्मेदवारहरूले आफ्नो उम्मेदवारी त्यागेर समर्थन गरेसँगै यस क्षेत्रमा बीना मगरको पक्षमा चुनावी माहोल थप सुदृढ देखिएको छ ।

आफ्नो उम्मेदवारीलाई तिलान्जली दिँदै चुनावी मैदान छाडेका देपेन्द्र बहादुर शाही र सियाराम रानाले अबको बाँकी समय बीना मगरलाई जिताउन युद्धस्तरमा अभियान सञ्चालन गर्ने संकल्प गरेका छन् । यस घटनालाई स्थानीय राजनीतिमा निकै चासोका साथ हेरिएको छ, जसले आगामी निर्वाचनको परिणाममा समेत प्रभाव पार्ने आँकलन गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ