कञ्चनपुरमा आफ्नो घर कम्पाउण्डभित्र मात्र होली मनाउन जिल्ला प्रशासनको आग्रह

महेन्द्रनगर, कञ्चनपुर ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आसन्न फागू पूर्णिमा (होली) पर्वलाई आफ्नो घर र निजी कम्पाउण्डभित्र मात्र सीमित रही मनाउन जिल्लाबासीहरूमा विशेष अनुरोध गरेको छ । आसन्न निर्वाचनको सुरक्षा संवेदनशीलता र सार्वजनिक शान्ति सुरक्षालाई मध्यनजर गर्दै प्रशासनले घरबाहिरका खुला क्षेत्रमा गरिने सामूहिक गतिविधिमा रोक लगाएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी मोहन चन्द्र जोशीद्वारा जारी सूचनामा धार्मिक तथा सांस्कृतिक रूपमा आफ्नो घरको हाताभित्र परिवार, आफन्त र साथीभाइसँग अरू कसैलाई बाधा अवरोध नपर्ने गरी मात्र पर्व मनाउन भनिएको छ । सार्वजनिक सडक, चोक वा खुला स्थानमा भेला भई भीड जम्मा गर्ने, मेला महोत्सव गर्ने वा मञ्च बनाएर साङ्गीतिक कार्यक्रमहरू सञ्चालन गर्ने जस्ता कार्य नगर्न प्रशासनले कडाइका साथ निर्देशन दिएको छ ।

यसैगरी, होलीको नाममा मादक पदार्थको बिक्री वितरण तथा सेवन गरी सार्वजनिक मर्यादा र शान्ति खलल पुर्‍याउने गतिविधि नगर्न समेत सचेत गराइएको छ । निर्वाचन आचारसंहिता २०८२ लागू भइसकेको सन्दर्भमा आचारसंहिता प्रतिकूल हुने गरी कुनै पनि उच्छृङ्खल वा गैरकानुनी क्रियाकलाप गरेमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने व्यहोरा सूचनामा उल्लेख छ ।

प्रशासनले घरबाहिर निस्केर कसैको इच्छा विपरीत रङ्ग दल्ने वा लोला हान्ने जस्ता कार्यलाई पूर्ण रूपमा निषेध गर्दै मर्यादित रूपमा चाड मनाउन आग्रह गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ