कञ्चनपुर,
कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र सिंह महता आरक्षपीडितको शिबिरमा पुगेर पीडितहरूसँग भेटघाट गरेका छन्। सोमबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद महता भीमदत्त नगरपालिका–४ महेन्द्रनगरमा बस्दै आएका आरक्षपीडितको शिबिरमा पुगेर उनीहरूको समस्या सुनेका हुन्।
भेटघाटका क्रममा आरक्षपीडित संघर्ष समितिका अध्यक्ष जयबहादुर रोकायाले २०६४ देखि २०७९ सम्म विभिन्न दलका नेताहरूले चुनावका बेला मात्र आश्वासन दिने तर समस्या समाधानतर्फ कुनै ठोस कदम नचालेको गुनासो गरे। उनले विगतका सरकारबाट आशा मारेको बताउँदै अब भने रास्वपा नेतृत्वको सरकारबाट समस्या समाधान हुने अपेक्षा राखेको बताए।
पीडितहरूको गुनासो सुनेपछि सांसद महताले संविधानले नागरिकलाई गास, बास र कपास जस्ता आधारभूत आवश्यकताको ग्यारेन्टी गरेको उल्लेख गर्दै आरक्षपीडितको समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाए।
उनले अहिलेसम्म काम नगरी राज्यको भत्ता खाने आयोगमाथि पनि छानबिन हुने बताए। “काम नगरी राज्यको भत्ता खानु पनि भ्रष्टाचार हो,” उनले भने।
सांसद महताले शिबिरमा रहेका पीडितहरूको अस्थायी शौचालय, खानेपानी तथा विद्युत् जस्ता आधारभूत समस्याको समाधानका लागि आवश्यक पहल गर्ने आश्वासन दिएका छन्। उनले आफ्नो चुनावी घोषणा पत्रमै आरक्षपीडितको समस्या समाधान गर्ने विषय उल्लेख गरिसकेको बताउँदै अब जनताले सरकार खोज्ने होइन, सरकारले जनता खोज्ने अवस्था आउने बताए।





