बलात्कार र हत्याका घटना विरुद्ध सडक र सदन तताउने सांसद लक्ष्मी बिकको चेतावनी

धनगढी, कैलाली

सुदूरपश्चिम प्रदेश सरकारकी पूर्वमन्त्री एवं प्रदेश सभा सदस्य लक्ष्मी बिकले सुर्खेतकी एनिसा बिक लगायत मुलुकका विभिन्न क्षेत्रमा नाबालिका तथा किशोरीमाथि भएका बलात्कारपछिको हत्याका जघन्य र अमानवीय घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको छ। यस्ता निन्दनीय र क्रूर अपराधले सभ्य समाजको मूल्य, मानवता र कानुनी शासनको उपहास गरेको उल्लेख गर्दै उहाँले यस्ता कार्य कुनै पनि हालतमा स्वीकार्य नहुने स्पष्ट पार्नुभएको हो।

सांसद बिकले निर्दोष नाबालिका र किशोरीहरूमाथि हुने यस्ता जघन्य अपराधले समाजलाई नै त्रसित बनाएको बताउँदै दोषीहरूलाई कुनै पनि बहानामा उन्मुक्ति दिन नहुनेमा जोड दिनुभएको छ। उहाँले घटनामा संलग्न अपराधीहरूलाई तत्काल पहिचान गरी निष्पक्ष र कडाभन्दा कडा कानुनी कारबाही सुनिश्चित गर्न नेपाल सरकार र सम्बन्धित सुरक्षा निकायको ध्यानाकर्षण गराउनुभएको छ। कानुनी शासनको प्रत्याभूति दिलाउन राज्यले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने उहाँको माग रहेको छ।

आफ्नो धारणा सार्वजनिक गर्दै पूर्वमन्त्री बिकले पीडित परिवारले न्याय नपाएसम्म र अपराधीले सजाय नभोगे सम्म आफूले सदन र सडक दुवै स्थानबाट निरन्तर आवाज उठाइरहने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ। उहाँले न्यायका लागि गरिने यो सङ्घर्षमा कुनै पनि सम्झौता नगरिने बताउँदै राज्यका जिम्मेवार निकायहरूलाई संवेदनशील बन्न आग्रह गर्नुभएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ