काठमाडौँ।
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्यान सम्बन्धी अभियोगमा शनिबार बिहान उहाँकै निवासबाट पक्राउ गरिएपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न एमालेले आकस्मिक सचिवालय बैठक बोलाएको छ। सरकारको यस कदमलाई राजनीतिक प्रतिशोधको पराकाष्ठा संज्ञा दिँदै एमालेले आजैदेखि देशव्यापी सडक प्रदर्शन गर्ने तयारी समेत गरेको छ।
एमालेका सचिव महेश बस्नेतका अनुसार पार्टीको आधिकारिक धारणा तय गर्न र आगामी आन्दोलनका रणनीति निर्माणका लागि शनिबार बिहान ८:३० बजे सचिवालय बैठक आह्वान गरिएको हो। अध्यक्ष ओलीको गिरफ्तारीले मुलुकको लोकतान्त्रिक छविमा गम्भीर आँच पुऱ्याएको र देशमा राजनीतिक अस्थिरता निम्त्याउने खेल भएको भन्दै पार्टीले यसलाई गम्भीरतापूर्वक लिएको उहाँले जानकारी दिनुभयो।
सचिव बस्नेतले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै राजनीतिक बन्दी नभएको देशका रूपमा स्थापित नेपालको साख पछिल्ला घटनाक्रमले धमिल्याएको उल्लेख गर्नुभएको छ। उहाँले बालेन शाह नेतृत्वको सरकारमा सुधन गुरुङजस्ता अनुभवहीन र विवादित व्यक्तिलाई गृहमन्त्री बनाइनुले नै यस्ता अराजक र पूर्वाग्रही कदमहरू चालिएको टिप्पणी गर्नुभएको छ।
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई समेत पक्राउ गरिनुले देशमा थप द्वन्द्व र मुठभेडको अवस्था सिर्जना गर्ने खतरा बढेको एमालेको ठहर छ। सरकारी सम्पदा र आफ्नै प्रहरी चौकीको सुरक्षा गर्न नसक्ने सुरक्षा संयन्त्रलाई लोकतन्त्रका लागि लडेका स्थापित नेताहरू पक्राउ गर्न हजारौंको संख्यामा परिचालन गरिनु विडम्बनापूर्ण भएको सचिव बस्नेतले बताउनुभयो।
एमालेले यस गिरफ्तारीलाई राजनीतिक पूर्वाग्रह र प्रतिशोधको राजनीतिको रूपमा व्याख्या गरेको छ। लोकतान्त्रिक मूल्य र मान्यताको रक्षाका लागि भन्दै पार्टीले आम कार्यकर्ता तथा नागरिकलाई आजैदेखि सुरु हुने विरोध प्रदर्शनमा सहभागी हुन अपिल गरेको छ। बिहान बस्ने सचिवालय बैठकको निर्णयपश्चात आन्दोलनका विस्तृत र विशेष कार्यक्रमहरू सार्वजनिक गरिने बताइएको छ।





